कपिलवस्तु, ८ चैतः कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई फरक धर्मका समुदायबीच भएको विवादले उग्ररुप लिँदै असहज अवस्था बन्न थालेपछि स्थानीय प्रशासनले आइतबार निषेधाज्ञा क्षेत्र थपेको छ ।
आइतबार दिउँसो १ बजेबाट पूर्वमा लबनी चोकदेखि पश्चिममा बर्गदीघाट पुलसम्म र दक्षिणमा धर्मभक्त मावि बभनीदेखि उत्तरमा पचेहरा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ । अहिले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कपिलवस्तु नगरपालिका तथा मायादेवी र शुद्धोदन गाउँपालिका रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा जारी गरेका हुन् । आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने प्रजिअ गौतमले बताए । अर्को आदेश नभएसम्म भेला, सभा, जुलुस र प्रर्दशन गर्न पाइँदैन ।
यसअघि शनिबार दिउँसो २ बजेदेखि अर्का आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो । यो आदेश पनि यथावत् छ ।
अहिले जिल्लाको सदरमुकाम तौलिहवा बजार बन्द रहेको छ । बिहानदेखि नै बजार खुलेका छैनन् । त्यस्तै बहादुरगन्ज, बर्रोहिया, पकडी र लबनी बजारपनि बन्द रहेको छ ।साभारः इकान्तिपुर

