Madhes Khabar
राजनीति हेडलाइन

पर्साका उम्मेदवारहरुले सार्वजनिक गरेको चुनावी खर्चको रकम विवरण : ‘वास्तविक कि देखावटी ?’

वीरगन्ज,३० फागुनः फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आइसकेपछि निर्वाचित र पराजित उम्मेदवारहरुले चुनावमा आँफुले गरेको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् ।

पर्सामा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो चुनावी खर्च विवरण बुझाउन सुरु गरिसकेका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाएको चुनाव खर्च विवरण उनिहरुले सामाजिक सञ्जाल (फेसबुक)मार्फत पनि सार्वजनिक गरिरहेका छन् ।

निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारले गर्न पाउने खर्चको सीमा अधिकतम २७ लाख रुपैयाँ तोकेको थियो ।यस्तै पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवारले गर्न पाउने खर्चको सीमा अधिकतम २९ लाख रुपैयाँ आयोगले तोकेको थियो ।

पर्साका विभिन्न निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धामा रहेका (निर्वाचित र पराजित) उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको विवरणमा न्युनतम ९ लाख ९५ हजारदेखि अधिकतम २१ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

पर्सा–१ मा चुनावी मतपरिणाममा दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले चुनावमा आँफुले १० लाख २४ हजार ९२५ रुपैयाँमात्रै खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

यस्तै त्यहि निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहन पुगेका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले चुनावमा आँफ्नो तर्फबाट २१ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् । पर्सा–१ बाट निर्वाचित रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त –हरि पन्त) ले भने आँफुले चुनाव खर्चको विवरण आइतबार वा सोमबार बुझाउने जानकारी दिए ।

यस्तै पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सुशील कुमार कानुले भने आफ्नो चुनावमा ९ लाख ९५ हजार रुपैयाँमात्रै खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । त्यस क्षेत्रमा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार तथा पूर्वममन्त्री अजयकुमार चौरसियाले भने आइतबार चुनाव खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउने उनका सहयोगी चन्दन सहनीले जानकारी दिए ।

यसैगरि पर्सा क्षेत्र नम्बर ३ मा निर्वाचित रास्वपाका रामाकान्त प्रसाद चौरसियाले भने ११ लाख ६५ हजार ७४० रुपैयाँमात्रै खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् । त्यस क्षेत्रमा मतपरिणामको नतिजा अनुसार तोस्रो स्थानमा रहन पुगेका एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले भने आँफुले चुनावमा ११ लाख ७५ हजार रुपैयाँमात्रै खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

यस्तै पर्सा क्षेत्र नम्बर ४ मा निर्वाचित रास्वपाका टेकबहादुर शाक्यले भने आफ्नो चुनाव खर्च विवरण अहिलेसम्म निर्वाचन कार्यालयमा पेस गरेका छैननन् । तर त्यहि क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी रहन पुगेका कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजालले भने चुनावमा आफ्नोतर्फबाट ११ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

तर उम्मेदवारहरुले फेसबुकमा सार्वजनिक गरेका चुनाव खर्च विवरणको पोष्टमा सर्वसाधरणले अनेक थरिका कमेन्ट( प्रतिक्रिया) गरिरहेका छन् । उम्मेदवारहरुले सार्वजनिक गरेका चुनाव खर्च रकमको विवरण यथार्थपरक नभई निर्वाचन आयोगको नियम पुरा गर्नका लागि देखावटी मात्रै भएको सर्वसाधरणहरुको प्रतिक्रिया छ ।

जिल्ला निर्वाचन कार्यालयमा हालसम्म पेस गरिएका र सार्वजनिक गरिएका पर्साका उम्मेदवारहरुको चुनाव खर्च विवरणका बारेमा सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पण्ीहरु गर्न थालिएको छ ।

उम्मेदवारले सार्वजनिक गरेको खर्च विवरण उस्को पुरै निर्वाचन क्षेत्रको नभई कुनै एउटा वडाको मात्रै हुनसक्ने व्यंग्यात्मक टिप्प्णी फेसबुक प्रयोगकर्ता राकेश महतोको छ ।पर्साकै एक उम्मे्दवारले फेसबुकमा सार्वजनिक गरेको चुनाव खर्च विवरणको पोष्टमा फेसबुक प्रयोकर्ता विनय कुशवाहा कमेन्ट लेख्छन् ः नेता ज्यू, योत ठिकै छ । अनि तपाइले घरघरमा बाँडेको नगद नारायणको हिसाब त यस्मा लेख्न छुटाउनु भएछ त ?’

वीरगन्ज– ९ का युवा विनित चौरसियाले अहिले जितेका र हारेका उम्मेदवारहरुले सार्वजनिक गरेको चुनाव खर्चको रकम हात्तीको देखाउने दाँत जस्तो रहेको बताए । उनले भने,‘चुनाव खर्चको रकम देख्दा त नयाँहरु इमान्दार छन् भनेको त उनिहरुपनि पुरानाजस्तै बेइमान र फरेब पो निस्किए,यस्ताबाट कस्तो सुशासन आउने होला खै ।’

पर्साको पटेर्वा सुगौली – ४ का युवा रामसरोज थारुले परिवर्तन र सुशासनको नारा बाँँडेर जितेकाहरुले पनि इमान्दारिता प्रदर्शन नगरेको बताए । उनले भने,‘ चुनाव यति महङ्गो र भ्डिकलो भएको छ कि एउटै वडामा एउटा उम्मेदवारको कम्तिमा पनि ४०÷५० लाख रुपैयाँ खर्च भएको छ । तर जितेका वा हारेका उम्मेदवारले आफ्नो पुरै निर्वाचन क्षेत्रमा १०÷१५ लाखमात्रै खर्च भएको भनेर जनतालाई ढाँटी रहेका छन् । यस्ता बेइमानबाट जनताले सुशासनको अपेक्षा राख्नु बेकार छ ।’

Related posts

मधेसका मुख्यमन्त्री यादवलाई निर्वाचन आयाेगकाे २४ घण्टे स्पष्टीकरण

MadhesKhabar

पर्सा ४ बाट कांग्रेस महासमिति सदस्यमा मन्त्री रिजालसहित ११ जना निर्विरोध निर्वाचित

MadhesKhabar

मुख्यमन्त्री यादवले भने : गगनलाई प्रधानमन्त्री बनाउन पर्सा–२ बाट अजय चौरसियालाई जिताउनुपर्छ

MadhesKhabar

Leave a Comment