वीरगञ्ज, ४ फागुन:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारीको व्यवस्था गर्दै जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने बताएका छन् ।
उनले विकास, शिक्षा, कृषि र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै भने,
“रास्वपाले जनतासँगको करार पत्र सार्वजनिक गरिसकेको छ । त्यसैअनुसार निर्वाचित भएपछि पाँच वर्षसम्म प्रतिबद्ध भएर काम गर्नेछौँ । जनताको आवश्यकता अनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो ।
कानुले समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हकहितका लागि काम गर्ने प्रतिबद्धता पनि दोहोर्याए ।
घरदैलो पश्चात् आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् । नेकपा (एमाले) का दलित नेता शिसम् महारासहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी रास्वपामा प्रवेश गरेको बताएका छन् । उनीहरूले घण्टी छापमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


