वीरगन्ज,४ फागुन:सर्लाहीमा गोली प्रहारबाट घाइते भएका सब इन्जिनियरको मृत्यु भएको छ। जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भएका यादव सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएअनुसार आज राति करिब ८ बजेर ५ मिनेटको समयमा यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।
गोली लागेर घरअगाडि रहेको प्यासेजमा लडिरहेको अवस्थामा श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि राति ८ बजेर ३७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति घटनापछि फरार रहेका छन्। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर दूरीमा रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

