वीरगन्ज २,फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–२ स्थित घोडपसरा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। चुनाव नजिकिँदै गर्दा स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको छ।
घरदैलो क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाहरू सुने। शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै उनले रास्वपा नेतृत्वमा मात्रै जनताको वास्तविक हितमा काम हुने विश्वास व्यक्त गरे।
उनले शिक्षकहरूको पहुँच तथा समस्या समाधान, आधारभूत स्वास्थ्य संस्थाको सुदृढीकरण र युवाका लागि स्थायी रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए। “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुन सक्दैन,” कानुले भने, “स्थानीय तहमा गुणस्तरीय सेवा सुनिश्चित गर्न नीतिगत र व्यवहारिक पहल गरिनेछ।”
कृषकहरूको हकहितका लागि समयमै मल, सिँचाइ सुविधा तथा उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्थामा जोड दिने उनले बताए। साथै युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनाहरू अघि बढाइने प्रतिबद्धता पनि जनाए।
घरदैलोमा सहभागी स्थानीयवासीहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार र जवाफदेही नेतृत्व आवश्यक भएको बताउँदै रास्वपाप्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यसपटक एकजुट भएर पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गर्दै जनताको सुझावलाई घोषणापत्र र कार्ययोजनामा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरे।

