वीरगन्ज,२३पुसःआगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले पर्साले चार वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारमा २४ जनाको नाम सिफारिस गरेको छ ।
चार वटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय समन्वय कमिटीबाट आएको २४ जनाको नाम जिल्ला कमिटीले आवश्यक केहि सुझावसहित मधेस प्रदेश कमिटीमा सिफारिस गरेको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।
दासका अनुसार, क्षेत्र नम्बर १ बाट प्रभु हजरा, बसरुद्धिन अन्सारी,इन्दु घिमिरे, सुन्दर कुर्मी,नवराज शर्मा,अरबिन्द सिंह र ममता गुप्ता गरी ७ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नम्बर २ बाट निर्मला देवकोटा,राजकुमार गुप्ता,अरविन्द सिंह र मनोज कुशवाह गरी ४ जनाको नाम मधेस प्रदेश कमिटीमा पठाइएको जिल्ला सचिव दासले जानकारी दिए ।
क्षेत्र नम्बर ३ बाट भगवान प्रसाद कुर्मी, मन्जुर आलम, तेजप्रकाश निषाद,रामबाबु यादव, प्रमोद जयसवाल,राजकुमार गुप्ता,रुपेश पाण्डेय,मन्जु देवी कुर्मी,मनिर आलम र शिव पटेल गरी १० जनाको नाम सिफारिस गरिएको दासले बताए ।
क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसकै विषयलाई लिएर मंगलबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकमा भाँडभैलो समेत भएको थियो ।पार्टीमा प्रवेश नै नगरेका व्यपारी रुपेश पाण्डेयको नाम केहि नेताहरुको निजी स्वार्थमा सिफारिस गर्न लागिएको भन्दै असन्तुष्ट कार्यकर्ताहरुको एक समुहले चर्को विरोध जनाएका थिए ।त्यसपछि पाण्डेयका समर्थक र उनको विरोधमा रहेका कार्यकर्ताहरुबीच हात हालाहालको अवस्थापनि सृजना भएको थियो ।
यसैगरी क्षेत्र नम्बर ४ बाट जालिम मियाँ,वीरेन्द्र प्रसाद यादव र गोकुली कुमारी रेग्मीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव दासले जानकारी दिए ।

