वीरगन्ज,१५पुसः आगामी फागुन २१ को निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीले चुनावी गतिविधि तिब्र पारेको छ ।जनमत पार्टीका तर्फबाट प्रत्यक्षतर्फको उम्मेदवारमा एकल सिफारिस भएका पार्टीका जिल्ला अध्यक्षसमेत रहेका ओमप्रकाश सर्राफले निर्वाचनलाई लक्षित गर्दै पार्टीका गतिविधिलाई तीब्र पारेका हुन् । जसअन्तर्गत उनले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
सर्राफले पछिल्लो एक हप्तामै क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न वडामा वृहत भेटघाट गर्दै कमिटी विस्तारमा जोड दिएका छन् । एक साताको अवधिमा वीरगन्ज महानगरपालिकाका वडा नम्बर २,१४ ,१५,१६,१८,२१,२३, ३१र ३२ मा पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै ती वडाहरुमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको उनले बताए ।
संगठनलाई थप मजबुत बनाउने उद्देश्यले स्थानीय स्तरमै जिम्मेवारी बाँडफाँड गर्दै जनमत पार्टीको आधार विस्तारमा जोड दिइएको सर्राफले बताए ।
जनताको दैनिक जीवनसँग जोडिएका समस्या, विकासका अवरोध तथा प्रशासनिक झन्झटहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सर्राफले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र आधारभूत पूर्वाधार निर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

