वीरगन्ज,१५पुसःसडकमा रहेका सामुदायिक कुकुरहरुलाई चिसोबाट जोगाउन उनिहरुका लागि न्यानो चकटीको व्यवस्था गरिएको छ ।यसअघि सडकका कुकुरहरुका लागि रातिमा बास बस्न बनाइएका खोरहरुमा न्यानो चकटी ओछ्याएर राखिएको हो ।
सुमार्ग बिन्दु आमा फाउन्डेसनको सहयोगमा वीरगन्ज कपडा बैंकले वीरगन्ज–४ जेलचोकस्थित कुकुरको खोरमा रहेका सामुदायिक कुकुरहरूका लागि पराल बिछाई त्यसमाथि कपडाबाट बनाइएका चकटी ओछ्याएर राखि दिएको हो ।
वीरगन्जमा केही दिनयता बढेको अत्याधिक चिसोका कारण बाहिर रहेका जनावर, विशेषगरी सामुदायिक कुकुरहरू प्रभावित भइरहेका बेला मानवीय संवेदनशीलता र मानवताको पहिचान झल्किने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।
कपडा बैंकमा संकलन भएका काम नलाग्ने रद्दी तथा खराब कपडालाई पुनः प्रयोग गर्दै दुई दुई फिटका आठ थान चकटी तयार गरी मंगलबार वितरण गरिएको वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले बताए। आगामी दिनमा पनि मानवसँगै पशु–पंक्षीप्रति करुणा र सहकार्यको भावना सहित यस्ता सेवामूलक गतिविधि निरन्तर जारी राख्ने उनले बताए ।
मंगलबार कुकुरहरुको खोरमा चकटी राख्ने क्रममा अध्यक्ष सिंह,बैंकका सदस्य नवराज भट्टराई, अभिलाष गुप्ता, सुमार्ग बिन्दु आमा फाउन्डेसनका सल्लाहकार तथा समाजसेवी मार्टिन मोक्तान, राजु चिया पसलका सञ्चालक राजु साह तुराहा लगायतको पनि उपस्थिती थियो।

