वीरगन्ज,१२पुस : चिसो घट्नुको सट्टा झन् बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप २ दिनका लागि जाडो बिदा दिएको छ।बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा थप दुई दिन अर्थात पुस १३ र १४ गते बिदा दिएको हो ।
बढ्दो चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस १३ र १४ गते थप दुई दिन बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
पुस १५ गते ल्होसार पर्बको सार्वजनिक बिदा परेकाले अब पुस १६ गतेदेखि मात्रै विद्यालयहरुमा नियमित पठपाठन सुचार हुने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
यसअघि वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो । पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा थियो भने पुस ११ गते पनि वर्षे बिदाबाट सट्टा हुने गरी महानगरपालिकाले विद्यालयहरुमा पठनपाठन बन्द नै गरेको थियो ।
तराई–मधेसमा पुस महिना सुरु भएलगत्तै चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हावा पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।


