वीरगन्ज,६ पुसः नेकपा एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार भई पराजित भएका पर्साका ६ जना नेता यसअघिको पदीय जिम्मेवारीबाट मुक्त भएका छन् ।
केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा पर्सा जिल्लाबाट कूल १२ जना उम्मेदवार रहेकोमा तीमध्ये विजय सरावगी, निर्मला देवकोटा र प्रभु हजरामात्रै निर्वाचित भएका थिए । अरु ९ जना भने पराजित भएका थिए । पराजित भएका ९ मध्ये ६ जना नेता पार्टीको विधान अनुसार पार्टीको यसअघिको पदीय जिम्मेवारीबाट पदमुक्त भएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।
पार्टीको पदीय जिम्मेवारीबाट मुक्त हुनेहरुमा एमालेको वीरगन्ज महानगर अध्यक्ष नवराज शर्मा, मधेस प्रदेश कमिटि सदस्यहरु बसरुद्धिन अन्सारी, प्रधुमन चौहान , मेघराज हजरा, रन्जु फुयाँल र उस्मान अन्सारी रहेको दासले जानकारी दिए ।
नेकपा एमालेको पार्टी विधानको धारा ६७ को पदरिक्ताको बुदाँ नम्बर ४ मा कुनैपनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएपछि स्वत पदरिक्त हुने वैधानिक व्यवस्था रहेको उल्लेख छ ।
त्यहि विधान अनुसार केन्द्रिय सदस्यमा उम्मेदवार भई पराजित हुन पुगेका पर्साका ६ जना नेताहरु पार्टीको यसअघिको पदीय जिम्मेवारीबाट स्वत मुक्त भएको सचिव दासले बताए ।


