वीरगन्ज,२पुसः आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार सिफारिसको विषयलाई लिएर पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसभित्र किचलो भएको छ ।
उम्मेदवार सिफारिसका लागि गत मंंसिर २२ गते आयोजित कांग्रेसको क्षेत्रीय भेलामा दुई नेताका समर्थकबीच वादविवाद हुदैं धकेलाधकेल समेत भएको थियो । अहिलेफेरि क्षेत्रीय कार्य समितिले युवा नेता राकेश यादवको नाम नै हटाएर जिल्ला कार्यसमितिमा गरेको सिफारिस गरेको विवाद बाहिरिएको छ ।
मंसिर २२ गतेको क्षेत्रीय भेलाबाट प्रत्यक्षतर्फका उम्मेदवारका लागि पूर्वमन्त्री अजय चौरसिया ,संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, युवा नेता राकेश यादव र मदन यादव गरी तीन जनाको नाम सिफारिस गरिएको समाचार मंसिर २३ गते विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।
त्यसदिन क्षेत्रीय सभापति महमद साहबुद्धनि स्वंयले पनि मधेसखबरसंगको कुराकानीमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि चौरसिया, अमात्य र यादवको नाम सिफारिस गरिएको पुष्टि गरेका थिए ।
तर क्षेत्रीय कार्य समितिले उक्त तीन नाम मध्येबाट आफ्नो नाम हटाएर अरु दुई जनाको नाम मात्रै जिल्ला कार्यसमितिमा सिफारिस गरेर पठाएको युवा नेता यादवको आरोप छ । त्यो थाहा पाएपछि आँफुले गत सोमबार कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई नै पुन उम्मेदवार सिफारिसका लागि लिखित आवेदन दिएको यादवले बताए ।
त्यसअघि क्षेत्रीय सभापति साहबुद्धिनलाई भेटेर आफ्नो नाम किन हटाउनुको कारण बारे लिखित रुपमा जवाफ दिन आवेदन दिन जाँदा उनले आफ्नो आवेदन नै नलिएको यादवले बताए । क्षेत्रीय सभापति साहबुद्धिनले आँफु परिबन्धमा परेको भन्दै मौखिक जवाफ दिएकोपनि यादवले बताए ।मधेसखबरसंगको कुराकानीमा यादवले भने, अजय चौरसिया ज्युको दबाबमा मैले नाम काटेर सिफारिस गर्न बाध्य भइयो भनेर निरिह जवाफ क्षेत्रीय सभापतिज्युले मलाई जवाफ दिनुभयो ।
यादवले मंसिर २३ गते आँफुले पार्टीको विधान बमोजिम नै प्रत्यक्षतर्फ तर्फको उम्मेदवार सिपफरिसका लागि लिखित निवेदनसहित ११ हजार रुपैयाँ दस्तुरपनि क्षेत्रीय सभापति साहबुद्धिनलाई बुझाएको र उनले उक्त निवेदनसहितको दस्तूरपनि बुझेको तर अहिले आएर आफ्नो नाम हटाएर सिफारिस गरेको बताए ।
यसबारेमा प्रतिक्रिया लिन क्षेत्रीय सभापति साहबुद्धिनको निजी मोबाइल नम्बरमा पटक पटक फोन गरेर सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।
यता कांग्रेस पर्साका क्षेत्रीय सभापति क्षेत्रीले भने क्षेत्र नम्बर २ बाट आएको प्रत्यक्षतर्फका उम्मेदवारका लागि जिल्ल कार्यसमितिमा आएको सिफारिसपत्रमा युवा नेता राकेश यादवको नाम नै नरहेको पुष्टिी गरे । उनले क्षेत्रीय कार्यसमितिबाट चौरसिया, अमात्य र मदन यादव गरी तीन जनाको मात्रै नाम सिफारिस गरिएको जानकारी दिए ।
गत सोमबार युवा नेता राकेश यादवले पार्टी कार्यालयमा आएर आँफुलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसका लागि निवेदन दिएको जानकारी दिए । क्षेत्रीय कार्य समितिको सिफारिसमा छुटफुट भएका नाम जिल्ला कार्य समितिले आवश्यक छलफल गरेर जिल्ला कार्यसमितिले आवश्यक राजय सुझावसहित मधेस प्रदेश कार्यसमितिमा पठाउने पार्टीको विधानमै उल्लेख रहेको भन्दै क्षेत्रीले चार वटै क्षेत्रबाट आएका सिफारिस सम्भवत बुधबार नै मधेस प्रदेश कार्यसमितिमा पठाइने जानकारी दिए ।

