
बारा,९मंसिरःबारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेका छन् ।
बाराको महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिक धरमपुर भुतही पुलमा सोमबार राति मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्पाइन मेसिनले सोनारले हाँकेको माटरसाइकललाई ठक्कर दिएको थियो । सोनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनिसंगै मोटरसाइकलमा सवार उनका साला बाराको कोल्हवी बजारका २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
कम्पाइन मेसिनका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

