जनकपुर,२६कात्तिक :मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन्।
नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बुधबार चौथो दिन पनि ७ राजनीतिक दलले संयुक्त रुपमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन गरे ।
जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको ख्यालै नगरी अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरिएको र सर्वोच्चको फैसला नआएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताए ।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्तिको बाटो खुल्ने विश्वास व्यक्त गरे ।
बुधबारको धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा , नेपाली कम्युनिष्ट पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सहभागी थिए ।
मंगलबार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।साभार:नेपाल टिभी

