वीरगन्ज,२७ साउनःदलितहरुको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका पर्सा जिल्लाका दलित सामाजिक अभियन्ता मनोज राम काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन निवासी मनोजलाई अनलाइन न्युज पोर्ट अनलाइनखबर डटकमले सम्मानित गरेको हो । नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिका ४० जनालाई सम्मानित गरेकामा पर्साका दलित एंव सामाजिक अभियन्ता मनोज पनि परेका हुन् ।
सामाजिक सेवामा समर्पित, दलित, विपन्न, सीमान्तकृत समुदायको लागि विगत लामो समयदेखि काम गरिरहेका ४० उमेर ननाघेका ४० जना व्यक्तिलाई अनलाइन खबरले छनोट गरेको थियो ।ती ४० जना युवामध्ये पर्साका मनोजलाई पनि सोमबार अनलाइन खबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्मानित गरेका हुन् ।
पर्साका मनोज विगत डेढ दशकभन्दा बढी समयदेखि जिल्ला, मधेस प्रदेश र देशकै विभिन्न जिल्लामा दलित, विपन्न, सीमान्तकृत समुदायको लागि सामाजिक कार्य गर्दै आएका छन् । उनले दलित समुदायको लागि सामाजिक न्याय, सशक्तीकरण, समानता, शिक्षा, आर्थिक सहयोग, बिरामी उपचारमा सहयोग, खानेपानीमा सहयोग, घर निर्माण, विपन्नको लागि योगदान गर्दै आएका छन् ।
अहिले मनोजको नेतृत्वमा पिस फर दलित फाउन्डेशन नेपालले पर्सा जिल्लाका चार स्थानमा दलित समुदायका एक हजार बालबालिकाको लागि विगत सात वर्षदेखि निःशुल्क ट्युशन कक्षा तथा सिकाइ सुधार केन्द्र सञ्चालन गर्दै आएको छ । मनोजकै सहयोगमा अहिलेसम्म दुई हजार दलित बालबालिकालाई कापी, कलम वितरण गरिएको छ भने चालू आर्थिक वर्षमा पाँच हजार बालबालिकाको लागि कापी, कलम तथा शैक्षिक सामग्रीहरू वितरण गर्ने योजनामा मनोजले काम गरिरहेका छन् ।

