वीरगन्ज,१५साउनःपर्साको ठोरी गाँउपालिका वडा नम्बर २ मा नवनिर्मित निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको नयाँ कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना र चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले संयुक्तरूपमा कार्यालय भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन कार्यक्रममा बोल्दै ढुंगानाले ठोरी देशकै ठोरी ऐतिहासिक क्षेत्र भएकोहुँदा यसलाई पर्यापर्यटनसँग जोड्न सके ठोरीको विकास सम्भव भएको बताए। ठोरीवासीमा राष्ट्रभक्तिको भाव अत्याधिक भएको हुँदा एकजुट भएर ठोरीको विकासका लागि लाग्न समेत उनले ठोरीवासीलाई आग्रह पनि गरे।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पन्तले संरक्षणको नीतिलाई कार्यान्वयन गर्दै तिनै तहका सरकारसंग हातेमालो गरी ठोरीको विकासलाई अगाडि बढाउनुपर्ने धारणा राखे।उनले निर्मल ठोरी समितिले सुरु गर्न खोजेको वनसफारीलाई आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले पर्सा र चितवन राष्ट्रिय निकुञ्जले घेरेको ठोरी क्षेत्रमा निर्मल ठोरी उपभोक्ता समिति रहेकाले यसको सम्भावना अत्याधिक रहेको बताउँदै यसको फाइदा लिन कार्यक्रमहरु तर्जुमा गरी अघि बढ्न सके ठोरीवासीको जनजीवनमा परिवर्तन आउने धारणा राखे।
कार्यक्रममा वन र वन्यजन्तुबाट प्रभावित घरधुरीका बालवालिकाहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो। यस्तै उत्कृष्ट कार्य सम्पादन गरेकोमा सरस्वती सामुदायिक वनका अध्यक्ष कमल विक्रम तिमल्सिना ,ओडार सामुदायिक वनका अध्यक्ष तारा बहादुर थापा र शिकारीवास सामुदायिक वनका अध्यक्ष सूर्य थिङ्गलाई सम्मान गरिएको थियो।
निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रमम स्वागत मन्तव्य समितिका सचिव नानीराम भुजेलले गरेका थिए भने कार्यक्रमको सहजीकरण सन्चारकर्मी चिरञ्जीवी सापकोटाले गरेका थिए।साभारःठोरी अनलाइन टिभी

