वीरगन्ज,१३साउनःवीरगन्ज महानरमा विद्युतको पोलबाट सिधै तार हुकीङ गरेर डीप् बोरिङमा जोडिएको लाइन काट्ने तयारी नेपाल विधुत प्राधिकरणले गरेको छ ।
डीप बोरिङका लागि सोझै विद्युत् हुकिङ गरेर चलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्ने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अवधेश दुबेले अधिकांश डिप बोरिङ विद्युत प्रसारण लाइनबाट हुकिङ गरी सञ्चालन गरेको पाइएकाले त्यसविरुद्ध कारबाही अघि बढाइएको बताए । ‘प्राधिकरण डिप बोरिङको विपक्षमा छैन,’ उनले भने, ‘तर डिप बोरिङ चलाउन हचुवाको भरमा प्राधिकरणको प्रसारण लाइनबाट विद्युत् हुकिङ गर्नुभएन, यसले अराजकता बढाउँछ ।’
उनले यस्ता डिप बोरिङ चलाउन प्राधिकरणको अनुमति लिई मिटर जडान गर्नु आवश्यक रहेको बताए । आइतबारको जिल्ला विपद् व्यवस्थापन समितिको समितिको बैठकमा पनि आफूले यो मुद्दा उठाएको उनले बताए । ‘बैठकले पनि उपभोक्ता समितिहरूले आवश्यक कागजात लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने निर्णय गरेको छ,’ उनले भने, ‘यसरी अवैध रुपमा भई रहेको विद्युत् हुकिङ कार्य गैरकानुनी भएकाले यसलाई तत्काल रोक्न स्थानीय एफएमबाट सार्वजनिक सूचनामार्फत सचेत गरेका छौं ।’ एक सातापछि अनुगमन गरेर यसरी हुकिङ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।
वीरगन्जमा २०८० सालदेखि गर्मी मौसममा चापाकलहरु सुक्न थालेपछि खानेपानीको आपूर्तीका लागि टोल टोलमा डीप बोरिङ गाडिएको छ । ती डीप बोरिङमा विद्युतीय मोटर चलाउनका लागि सिधै विद्युतको पोलमा तार हुकीङ गरेर लाइन जोडिएको छ । यसवर्ष खानेपानीको समस्या झन् बिकराल बनेपछि महानगरमा डीप बोरिङ गाड्ने काम तिब्र रुपमा भइरहेको छ ।साभारः इकान्तिपुर

