
वीरगन्ज,२साउनःबाराको सिम्रौनगढमा शुक्रबार किसानहरुले सडकै टायर बालेर सुरक्षाकर्मीहरुको विरोधमा प्रदर्शन गरेका छन् ।सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका बहानामा अनावश्यक दुःख दिएको भन्दै किसानहरुले सिम्रौनगढको कोल्ड स्टोर नजिक र गण्डक नहरको सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडडक जाम पनि गरेका छन् ।
धान खेतीको सिजनका बेला नेपाली बजारमा रासायनिक मल नपाएपछि सिमावर्ती भारतीय बजारबाट एक दुई बोरा मल लिएर आँउदा सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुले खोस्ने र दुव्र्यवहार गर्ने गरेको भन्दै किसानहरु सडक प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले धान खेतीको सिजनमा चाहिने मल नदिनु र त्यही मल भारतीय बजारबाट ल्याउँदा नियन्त्रणमा लिनु कार्यले सिम्रौनगढका किसानलाई समस्या परेकाले विरोध गर्नु परेको प्रदर्शनमा सहभागी स्थानीय रमेश प्रसादले बताए।
सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द रहेको र भारतीय बजारबाट ल्याउने मललाई भन्सार छली गरेर ल्याएको भन्दै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर दुःख दिने काम गरेको भन्दै प्रदर्शनमा उत्रनु परेको उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबु कुशवाहाले बाताए।

