वीरगन्ज,८असारःपर्साको जिराभवानी गाउँपालिकाको १५ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३४ करोड बढीको बजेट सार्वजनिक गरिएको छ ।सेढवास्थित गाँउ कार्यपालिकाको सहभाकक्षमा आयोजित गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष उपाध्यक्ष रेखा चौधरीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३४ करोड १० लाख ४९ हजार ५२८ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै उपाध्यक्ष चौधरीले समावेशी विकास, नागरिकमुखी सेवा प्रवाह तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिइन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई सन्तुलित ढंगले सम्बोधन गरिने बताइन् ।
गाउँसभामा गाँउपालिका अध्यक्ष अनोज चौधरीले समग्र विकासमा सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषिको आधुनिकीकरण, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, सामाजिक सुरक्षाको सुदृढीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिकमा राखिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले स्थानीय तह जनताको प्रत्यक्ष सरोकार राख्ख्ने निकाय भएकाले सेवा प्रवाहमा जिम्मेवारी अझ बढेको धारणा राखे । उनले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अघिल्ला वर्षहरूको तुलनामा कटौती भएको उल्लेख गर्दै स्रोतसाधन परिचालन र राजस्व संकलनमा स्थानीय जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
गाँउपालिकाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको गाउँसभामा पाँच वटैै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्य,राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारी लगायतकाको सहभागिता रहेको गाँउपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फुयाँलले जानकारी दिए ।

