वीरगन्ज,८असार:पर्साकाे बहुदरमाई नगरपालिका-५ पटनीमा शनिबारराति भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्युु भएको छ।अर्का एक जना घाइते भएका छन्।गण्डक नहरकाे सडकमा शनिबारराति करिब ९.३० बजे बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमाे र नम्बर खुल्न नसकेको माेटरसाइकल आपसमा ठाेक्किएर सडकछेउमै निर्माणाधीन नालामा खसेर दुवै सवारीसाधनमा आगाे लागेकाे थियाे।आगलागीबाट दुवै सवारीसाधन जलेर ध्वस्त भएका छन्।
उक्त दुर्घटनामा माेटरसाइकल चालक भारतकाे बिहार राज्यकाे पूर्वीचम्पारण जिल्लाका ३८ वर्षीय नरेश साह बर्णवालकाे मृत्यु भएको हाे।माेटरसाइकलमा पछाडि सवार पर्साकाे बहुदरमाई नगरपालिका-५ का १९ वर्षीय राेशन बर्णवाल घाइते भएको र उनकाे वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।
सुमाेका चालक फरार रहेकाे उनले बताए ।दुर्घटनामा जलेर ध्वस्त भएको माेटरसाइकलकाे नम्बर प्लेट खुल्न नसकेको उनले बताए ।
राति दुर्घटना भएलगत्तै सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादव वारुणयन्त्र र एम्बुलेन्स लिएर उद्दारका लागि घटनास्थलमा पुगेका थिए।उक्त वारुणयन्त्रले नै दुवै सवारीसाधनमा लागेको आगाे निभाएकाे थियाे।

