वीरगन्ज,१८जेठ:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाले ढकिया पथिया बुनेर बिक्री गर्दै आइरहेका गृहिणी महिलाहरुलाई एडभान्स तालिम दिएकाे छ।साताैं राष्ट्रिय महिला दिवसकाे अवसरमा गाँउपालिकाले २० भन्दा बढी महिलाहरुलाई उनिहरुकाे व्यवसायीक सीप अभिवृद्धिका लागि ७ दिने एडभान्स तालिम दिएकाे हाे।
जेठ १२ गतेदेखि सुरु भई आइतबार सकिएकाे ७ दिने एडभान्स तालिमकाे समापन समाराेहमा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।समापन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष ममता महताे ,प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता र प्रशिक्षक कुमारी चाैधरीले तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्।त्यसअवसरमा गाँउपालिका उपाध्यक्ष महताेले यसअघि ढकिया पथिया बुन्ने आधारभूत तालिम लिइसकेका महिलाहरुलाई उनिहरुकाे सीप अभिवृद्धिका साथै व्यवसायिकता प्रदान गर्नका लागि दाङबाट प्रशिक्षक झिकाएर ७ दिने एडभान्स तालिम दिइएको बताइन्।
पटेर्वा सुगाैली गाँउपालिकाले गाँउपालिकाका गृहिणी महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन र थारु समुदायकाे लाेपाेन्मुख संसकृति जगेर्नाका लागि ढकिया पथिया बुन्ने तालिम दिएपछि करिब २५ जना महिलाहरुले व्यवसायिक रुपमा ती सामग्री बनाएर देशविदेशमा विक्रिवितरण गर्दै आएका छन्।

