जनकपुरधाम,१७जेठ : मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले “महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम” अन्तर्गत प्रदेशभर करिब १ हजार २७३ महिला कृषि स्वयंसेविका परिचालन गर्न दरखास्त आह्वान गरेको छ।
कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीको अग्रसरतामा मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कार्यक्रम अघि बढाउँदै जेठ १५ गते सूचना प्रकाशित गरेको छ। उक्त सूचनाअनुसार इच्छुक तथा योग्य महिलाले १५ दिनभित्र सम्बन्धित जिल्ला छनौट समितिको सचिवालयमा दरखास्त दिन सक्नेछन्।
महिला कृषि स्वयंसेविका लागि कस्ले आवेदन दिन सक्छ?
दरखास्त दिन चाहने उम्मेदवार कम्तीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। साथै, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसईई (एसएलसी) वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारले सार्वजनिक लाभको पदमा कार्यरत नरहेको र सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ। कार्यानुभव र कृषि सम्बन्धी तालिम प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
दरखास्त पेश गर्दा उम्मेदवारले निम्न कागजातहरू संलग्न गर्नुपर्नेछ :
महिला कृषि स्वयंसेविका परिचालन कार्यविधि, २०८१ अनुसारको दरखास्त फारम
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
एसईई वा सो सरह शैक्षिक प्रमाणपत्र
सरकारी निकायमा काम गरेको अनुभव प्रमाणपत्र (भएको खण्डमा)
कृषि, पशुपन्छी वा मत्स्य सम्बन्धी तालिम प्रमाणपत्र (भएको खण्डमा)
सार्वजनिक लाभको पदमा नरहेको स्वघोषणा
स्थानीय तहको वडाबाट स्थायी बसोबासको सिफारिस पत्र
सेवा सुविधा
छनौटमा परेका महिला स्वयंसेविकालाई महिला कृषि स्वयंसेविका परिचालन कार्यविधि, २०८१ मा उल्लेख गरिएअनुसार सेवा सुविधा प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
उम्मेदवारले आफ्नो स्थायी ठेगाना अनुसार देहायका स्थानमा दरखास्त दिन सक्नेछन् :
कृषि ज्ञान केन्द्र पर्सा
कृषि ज्ञान केन्द्र बारा
कृषि ज्ञान केन्द्र रौतहट
कृषि ज्ञान केन्द्र सप्तरी
कृषि ज्ञान केन्द्र सिरहा
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषा
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरी
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाही
थप जानकारीका लागि
यस सम्बन्धमा विस्तृत जानकारी मधेश प्रदेश सरकारको वेबसाइट https://molmac.madhesh.gov.np बाट प्राप्त गर्न सकिनेछ।


