Madhes Khabar
स्थानिय हेडलाइन

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

 फाइल फोटो

वीरगन्ज,१६ बैशाख : वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले सन्चालन गरिरहेको नियमित सरसफाई अभियानसँगै जथाभावी फोहोरफाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा पनि चलाउने भएको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्नेलाई आर्थिक जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहोर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए ।

“जथाभावी फोहोर फाल्नेलाई हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, “जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहोर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए ।

गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी ३ सय ६२ जनाबाट महानगरले ८ लाख ७१ हजार रुपैया जरिवानाबापत राजस्व संकलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहोर जताततै फ्याँक्ने प्रवृत्ति छ”, मियाँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।

विगतमा डम्पिङसाइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहोरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए ।

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको मेयर राजेशमान सिंहले बताए ।

“बढ्दो जनघन्त्व र सडकमै फोहोर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो”, नगरप्रमुख सिंहले भने, “फोहर व्यवस्थापन गरी वीरगन्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।” रासस

Related posts

गढीमाई मन्दिरको दान पेटीकाबाट थप साढे ७ लाख नगद र ९ थान गहना भेटी संकलन

MadhesKhabar

पत्रकार नेहाल खानको उपचारका लागि मेयर सिंहले दिए ५० हजार रुपैयाँ

MadhesKhabar

पर्साको भाथाधामका लागि आएको ५० लाख रकम काम नै सुरु नहुदाँ फ्रिज हुने सम्भावना

MadhesKhabar

Leave a Comment