रौतहट,३० बैशाख:रौतहटमा आएदेखी डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध गतिविधि नियन्त्रण र कारबाही अभियान जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८१/८२ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य वन पैदावार ओसारपसार गर्ने २६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ती सवारी साधनहरूबाट सालकाे काठसहितको ठूलो परिमाणको वन पैदावार बरामद गरिएको हो ।गतसाउनदेखि बैशाख मसम्म नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा ट्रक, ट्याक्टर, साइकल र मोटरसाइकल रहेका छन् ।
अवैध ओसारपसारमा संलग्न २६ वटा सवारीसाधनबाट जम्मा २५ लाख ९६ हजार ६६५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले जानकारी दिए ।रौतहटको विभिन्न स्थानमा भएका वन अतिक्रमणमाथि पनि नियन्त्रण गरिएको प्रमुख साहले जानकारी दिए ।
गढीमाई नगरपालिका, फूलबारी, खयरधारी र भुलटार क्षेत्रलगायतका स्थानहरूमा गरी जम्मा १२.७४७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको फेला परेको छ । तीमध्ये कतिपय स्थानमा तारबार हटाइ पुनः वन क्षेत्र कायम गरिएको, कतै वृक्षारोपण गरिएको र केही स्थानमा दोषी उपर मुद्दा दायर गरिएको जनाइएको छ ।
भुलटार क्षेत्रको अतिक्रमण प्रकरणमा “बीरबहादुर लोजन” माथि वन फाइल तयार पारिएको र कारबाही प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटले वन सम्पदा संरक्षणका लागि निगरानी र अनुगमन कार्य अझ प्रभावकारी बनाइरहेको र दोषी उपर कडा कारबाही गरिने वन कार्यालय प्रमुख साहले बताए ।

