वीरगन्ज,०१बैशाख:वीरगन्जमा स्थानीय प्रशासनले गत शनिबार बेलुकीदेखि लगाएको कर्फु हटाएकाे छ।गत शनिबार वीरगन्जमा हनुमान जन्माेत्सवका अवसरमा निकालिएको शाेभा यात्राका क्रममा छपकैयामा दुई फरक धर्मका समुदायबीच विवाद भई झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकीदेखि आईतबार राति १२ बजेसम्मका लागि कर्फु लगाएको थियाे।
तर आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएपछि कर्फु आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएकाले आइतबार राति १२ बजेपछि कर्फु हटाउने निर्णय जिल्ला सुरक्षा समितिकाे बैठकले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका हुन्।
आइतबार राति प्रजिअ अर्यालले जारी गरेकाे सुचनामा कर्फु आदेश हटाइएको भएपनि वीरगन्जको परिस्थिति पूर्ण रुपमा सामान्य भई नसकेकाे अवस्थालाई मध्यनजर गरेर वीरगन्ज महानगरपालिकाकाे शहरी क्षेत्रमा साेमबार बैशाख १ गतेदेखि अर्को सुचना जारी नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
पूर्वमा बाइपास राेड,पश्चिममा सिर्सिया पुल,उत्तरमा गण्डक चाेक र दक्षिणमा शंकराचार्य गेटकाे चार किल्ला ताेकेर वीरगन्जमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे।कुनै किसिमकाे भेला गर्न,सभा जुलुश तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६ (३क) बमोजिम अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालद्वारा जारी सुचनामा उल्लेख छ।
उक्त निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमाेजिम कारबाही गर्ने चेतावनीसमेत प्रजिअ अर्यालले दिएका छन्।
यसअघि आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको थियाे। प्रमुख जिल्ला अधिकारी अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा भएको बठकमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने , अन्तर धार्मिक/साम्रपदायिक सदभाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमति भएको थियाे।
यस्तै शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने,तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने,वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा,पर्व , कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमतिपनि भएको छ ।
यसैगरि वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमतिपनि गरिएको थियाे ।
उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सकृय सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेका थिए ।
शनिबारको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियाे।उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए ।
शनिबार हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो , काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरिएको थियो ।त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरिएको थियो ।