वीरगन्ज,३१चैत: वीरगन्जमा शनिवार “केही व्यक्तिको उच्छृङ्खल गतिविधिका कारण” दुई धार्मिक समुदायबीच सुरु भएको झडप नियन्त्रणमा आउन नसकेको भन्दै लगाइएको कर्फ्यु आइतवार राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ।
हनुमान् जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि थप जटिल हुनबाट रोक्न भन्दै शनिवार साँझ ७ बजेर ३० मिनेटदेखि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार शोभा यात्राले नगर परिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो।
“जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले झडपका क्रममा आफूसहित २५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको बताएका छन्। त्यसबाहेक यात्रामा रहेका सर्वसाधारणसहित करिब २५ जना घाइते भएका उनले बताए।
“केही उच्छृङ्खल मानिसहरूले छतमाथिबाट ढुङ्गा हानेपछि विवादले उग्र रूप लिएको हो,” मिश्रले भने। “केही घाइतेहरूको अहिले नारायणी अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ।”
यसैबीच आइतवार बसेको सर्वदलीय बैठकले घाइतेहरूको उपचार सरकारका तर्फबाट हुनुपर्नेसहित विवाद उत्पन्न गराउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गर्ने निर्णय गरेको छ।
कसरी भएको थियो घटना?
शनिवार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान् जयन्तीको शोभा यात्रा छपकैयाको श्रीराम हलनजिक पुगेको थियो।
शोभा यात्रामा सहभागी एकजनाले बोकेको जय श्रीराम अङ्कित झन्डा एक अपरिचित युवाले खोसेपछि विवाद सुरु भएको प्रत्यक्षदर्शी बताउँछन्।
त्यसपछाडि सडक छेउको एक छतमाथिबाट शोभा यात्रामा सहभागी मानिसहरूमाथि ढुङ्गा हान्न थालिएपछि विवाद सुरु भएको देखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
“दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो। यसबारे अनुसन्धान भइरहेको छ,” अर्यालले भने।
प्रहरी र स्थानीयबीचको झडपका कारण उत्पन्न तनावपूर्ण अवस्थापछि सेनासमेत परिचालित भएको प्रजिअ अर्यालले बताए।
परिस्थिति प्रतिकूल भएका कारण जनजीवन सहज बनाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायत अन्य सबैको उपस्थितिमा सर्वदलीय बैठक बसेको अर्यालले जानकारी दिए।
“यो विषय संवेदनशील भएकोले शान्ति सुरक्षा कायम गर्नका लागि कर्फ्यू लगाउनैपर्ने अवस्था पछिल्लो समय देखिन थालेको छ,” मिश्रले भने।
विगतमा पनि दुई समुदायबीच झडप
गत वर्ष पनि वीरगन्जमा दुई धार्मिक सूमहबीच विवाद उत्पन्न भएको थियो।
वीरगन्जमा करिब १४ महिनाअगाडि पनि दुई धार्मिक समूहबीच विवाद उत्पन्न भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।
त्यति बेला रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको थियो।
समाजशास्त्री वीरेन्द्रप्रसाद साह पछिल्लो समय खासगरी तराई मधेसका सीमानाकासँग जोडिएका जिल्लाहरूमा दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेको बताउँछन्।
यस्तो अवस्था बढ्दै जाँदा सुरक्षा दृष्टिकोणबाट अवस्था खतरापूर्ण बन्नुका साथै समाजका लागि पनि ठूलो हानि पुर्याउने उनले बताए।।
“हिजोको जुन साम्प्रदायिक विवाद देखियो त्यो दुःखद घटना हो। आजभन्दा करिब २० वर्ष पहिले नेपालगन्जमा यस्तो घटना सुनिएको थियो,” समाजशास्त्री साहले भने।
“सामाजिक सद्भावभन्दा पनि उच्छृङ्खल गतिविधि बढाउने गीत सङ्गीतले बजार र समाजमा प्रश्रय पाउने गरेको छ,” उनले भने।
“अराजकताको अवस्था सिर्जना हुँदै जानुमा राजनीतिक दलका नेता अनि जनप्रतिनिधिहरूको पनि अप्रत्यक्ष रूपले अलिक योगदान हो कि जस्तो लागेको छ,” उनले भने।
धार्मिक रूपले सामञ्जस्य कायम गराउनुपर्ने कुरामा सकारात्मक भूमिका खेल्नुपर्नेमा एक समुदायले अर्को समुदायको प्रदर्शन तथा होडबाजीमा लाग्नुले वितृष्णा बढेको छ,” उनले भने।
समाजशास्त्री साहले विगत ८/१० वर्षमा विभिन्न समायमा दुई समुदायबीच यस्ता घटना हुने गरेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
उनले बारा जिल्लामा छठ पूजाका बेला, सर्लाहीमा दुई समुदायबीच भएको घटनालगायत अन्य घटना पनि एकपछि अर्को घटना भएको स्मरण गरे।
शनिवार बेलुकी ८ बजेसम्म प्रहरीले दुई राउन्ड हवाई फायर र १ सय ३० राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अर्यालले बताए।माधुरी महताे/बिबिसि