काठमाडौं,१३चैत: खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।
चितवनमा बुधबार आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा राप्ती नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि यहाँका नागरिकका पानीका समस्या सधैंका लागि समाप्त भएको बताए।
उनले भने, ‘यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालनमा आएको हो। यसले राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ क्षेत्रलाई सेवा प्रदान गर्नेछ। यस योजनाबाट तीन हजार दुई सय घरधुरीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ।’
मन्त्री यादवले चितवनको राप्ती नगरपालिका भण्डारा क्षेत्रका नागरिकहरूका खानेपानीका समस्या सधैंका लागि समाधान भएको बताए। उनले भने, ‘पानीको अभावका कारण यहाँको बसाइँ कठिन थियो, तर आजको दिनले नयाँ युगको सुरुवात गरेको छ।’
संघीय सरकार, उपभोक्ता समिति, र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य, र परिश्रमको फलस्वरूप महत्त्वपूर्ण योजना निर्माण गर्न सफल भएको उनको भनाइ थियो। मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती नगरपालिका ४, ५ र ६ का बासिन्दाहरूलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ, जसबाट हजारौं नागरिकको स्वास्थ्यमा सुधार आउनेछ।
विगतमा यहाँका स्थानीय उपभोक्ताहरू इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य थिए। जुन परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था रहेकोमा अब यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरूले हरेक दिन २४ सै घण्टा स्वच्छ, शुद्ध र सुरक्षित खानेपानी उपभोग गर्न पाउने मन्त्री यादवले बताए।
नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्री यादवले खानेपानी मन्त्रालय तथा सम्बन्धित निकायहरू विगत लामो समयदेखि नेपाली नागरिकहरूलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न निरन्तर प्रयत्नशील रहेको जानकारी गराए।
उनले भने, ‘सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धतासँग सिङ्गो सरकार, विकास साझेदार, दातृ निकाय तथा स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढिरहेको छ।’ स्थानीय समुदायको जीवनस्तरमा वृद्धि गर्ने तथा दिगो विकास लक्ष्य अन्तर्गत ‘स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता’ लक्ष्य प्राप्तिमा टेवा पुर्याउने मन्त्रालयको नीति निरन्तर अघि बढिरहेको उनको भनाइ छ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य अझै सशक्त बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै मन्त्री यादवले यस्ता आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नवीन तथा प्रविधि–मैत्री उपायहरू अवलम्बन गरिने बताए।
उक्त आयोजना ९ करोड ९१ लाख २५ हजार ५९ रुपैयाँको लागतमा सम्झौता गरिएको थियो भने हालसम्म ९ करोड ८६ लाख ७८ हजार २८८ खर्च भएको छ। सरकारको ९ करोड ६८ लाख ६० हजार २८८ रुपैयाँ तथा उपभोक्ताको सहभागितामा १८ लाख १८ हजार लागतमा सुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरले जनाएको छ।