वीरगन्ज,२८फागुनःवीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको धार्मिक आस्थाको केन्द्र स्थित ऐतिहासिक बौधीमाई मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरणको काम सुरु गरिएको छ।
झण्डै सय बर्ष पुरानो बौधीमाई मन्दिर जीर्ण अवस्थामा रहेको र मर्मतसम्भारको अभावका कारण ओझेलामापनि पर्न थालेपछि वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले वडास्तरीय बजेटबाट मन्दिरको पुर्ननिर्माण गरेर सौन्दर्यकरण गर्न थालेका हुन् ।
बुधबार हिन्दु धार्मिक रितिरिवाज अनुसार पूजापाठ गरेर मन्दिरको पुर्ननिर्माण र सौन्दर्यकरणको काम सुभारम्भ गरिएको वडाध्यक्ष कानुले बताए । मन्दिरको पुर्ननिर्माण र सौन्दर्यकरणका लागि वडाबाट २४ लाख ९७ हजार ६१२ रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।
उक्त रकमबाट बौधीमाईको मुख्य मन्दिरको नयाँ संरचना निर्माण,मन्दिर परिसरको सौन्दर्यकरण लगायतका काम गरिने बताए । उनले भने,‘वर्षौदेखि मर्मतसम्भार नुहदाँ मुख्य मन्दिरको संरचना जीर्ण भइसकेको थियो । मन्दिर प्रांगण भन्दा मन्दिरको भुइं सतह होचो भइसकेको थियो । त्यसका कारण मन्दिरको नयाँ संरचना नै बनाउन थालेका हौं । अन्य सौन्दर्यकरणको कामपनि हुनेछ ।सबै काम सकेपछि बौधीमाई मन्दिरपनि अन्य मन्दिर जस्तै आकर्षक र सुन्दर देखिनेछ ।’
उपभोक्ता समितिमार्फत मन्दिरको पुर्र्ननिर्माण र सौन्दर्यकरणको काम भइरहेको भन्दै उनले आगामी रक्षाबन्धनको अघिल्लो दिन मन्दिरमा लाग्ने मेलाको दिन भन्दा पहिले नै सबै काम पुरा गरिने बताए । सबै काम सकाएर रक्षाबन्धनको अघिल्लो दिन लाग्ने मेलाका दिन नयाँ संरचनाको मन्दिरमा माताको प्राणप्रतिष्ठाका साथै भव्य पूजन समारोह आयोजना गर्ने योजना आँफुहरुको रहेको उनले सुनाए ।
बुधबार मन्दिरको पुर्ननिर्माण र सौन्दर्यकरण कार्यको शुभारम्भ गर्ने क्रममा वीरगन्ज–१० का वडा सदस्य सन्तोष जैशी चौलागाई र प्रभु महतो, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष साह कानु, राधा साह कानु, गौरीशंकर साह , जगु साह कानु, गेना साह कानु,लखनलाल गुप्ताा लगायतकाकोपनि उपस्थिति रहेको थियो।