वीरगन्ज,१८ फागुनः सलहेश युवा क्लब सिरहा दोस्रो वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आदर्शनगर रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा काठमाडौंको संकटा फुटबल क्लबलाई टाइबेकरमा संकटालाई ५–४ ले स्तब्ध पार्दै सिरहाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइबेकरमा धकेलिएको थियो । टाइबेकरमा सिरहाका लागि म्बोउमा एनिसेट,सुमित श्रेष्ठ,अमन लामा,शीशीष लेखी र जय गुरुङले गोल गरे। संकटाका लागि सुनिल खड्का,राजिव लोप्चन र टिछिरिङ लामाले गोल गरे भने राम थापाले गरेको प्रहार सिरहाका गोलरक्षक विशाल सुनारले पञ्च गरेर अअसफल बनाइदिए ।
यसअघि निर्धारित ९० मिनेटको खेल चलिरहदाँ ७१ औं मिनेटमा सिरहाका विदेशी खेलाडी बेनिब्राहिमले संकटाको डिएरिया नजिकैबाट प्रहार गरेको बल संकटाका गोलरक्षक विशाल केसीले पञ्च गरेपछि गोलपोष्टको बारमाथि बाहिरिएको थियो । त्यसलगत्तै ७४ औं मिनेटमा संकटाका सृजनराज गौतमले गरेको सशक्त प्रहार सिरहाका गोलरक्षक विशाद सुनारले असफल पार्र्दा संकटा खेलमा अग्रता लिनबाट चुकेको थियो ।खेलको ८४ औं मिनेटमा फेरि संकटाकै भीषण गुरुङले सिरहाको डिएरयिा नजिकैबाट प्रहार गरेको बल गोलपोष्टको माथिल्लो बार छोएर बाहिरिएको थियो ।
आइतबारको खेलको म्यान दी म्याच सिरहाका गोलरक्षक विशाल सुनार घोषित भए।उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।
प्रतियोगितामा सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजना भेट्रान सिटी क्लब वीरगन्जका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा भारतको गढवाल डायमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले हराउँदैै वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डायमण्ड फुटबल क्लब दिल्ली भारत, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र वीरगन्ज युनाइटेड क्लब गरी ८ टिमले भाग लिएका छन् ।प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

