वीरगन्ज,१८फागुनःवीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा करिब १७ अर्ब रुपैयाँको एलोपेथिक औषधि आयात भएको छ ।गत साउनदेखि माघसम्म सात महिनाको अवधिमा वीरगन्ज नाका हुदैं भारत तथा तेस्रो मुलुकबाट १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ प्रतिशतले बढेको हो ।गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको थियो । तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतमले स्वदेशी औषधिले देशको कूल औषधि बजारको झन्डै ६० प्रतिशत हिस्सा ओगटे पनि अझै ४० प्रतिशत बजार विदेशी औषधिकै रहेको बताए ।यसको प्रमुख कारण कतिपय औषधि अझै पनि स्वदेशी औषधि उद्योगहरूले उत्पादन गर्न नसक्नु नै रहेको गौतमको भनाई छ । ‘विशेष गरी भेन्टिलेटर तथा आईसीयूमा प्रयोग हुने औषधि स्वदेशमा उत्पादन हुँदैनन्,’ उनले भने, ‘यसका लागि विदेशी औषधिमाथिको निर्भरता बाध्यात्मक छ ।’
नेपालमा हाल १ सय १३ वटा एलोपेथिक औषधि उत्पादक उद्योग सञ्चालनमा रहेका छन् । तैपनि कतिपय औषधि यी उद्योगले उत्पादन गर्न सकेका छैनन् । नेपालमा सर्वाधिक भारतबाट औषधि आयात हुन्छ । भारतपछि बंगलादेश, सिंगापुर आदि देशबाट औषधि आयात हुने गरेको छ ।साभारःकान्तिपुर

