
वीरगन्ज,१७मंसिरःपर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु जीर्ण भवनबाट सेवा दिन वाध्य भएका छन् ।स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् ।
२०२६ सालमा निर्माण भएको स्वास्थ्य चौकी उक्त क्षेत्रकै पुरानोमध्येको एउटा हो । एक जना कार्यालय सहयोगी र तीन जना स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवन विभिन्न ठाउँमा चर्किएको छ । सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानीसमेत चुहिने गरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।
सिनियर अनमि बिनुकुमारी सहनीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि नै झरेको थियो । ‘म कोठामा थिएँ,’ उनले भनिन्, ‘ठूलो आवाजसहित सिलिङको प्लास्टर उप्किएर चुलोमाथि झ¥यो, चुलो कुच्चिएर कामै नलाग्ने भएको छ । अन्य बेला पनि प्लास्टर उप्केर झरिरहेको हुन्छ । राति सुत्नसमेत डर लाग्छ ।’
स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद राउत कुर्मीले बर्थिङ सेन्टर सञ्चालनमा रहेकाले स्वास्थ्यकर्मी राति जीर्ण भवनमै बस्न बाध्य रहेको सुनाए । दुई जना अनमि, एक जना वरिष्ठ अनमि र कार्यालय सहयोगीसहित चार जना उक्त भवनमा बस्ने गरेको कुर्मीले बताए । नयाँ भवन निर्माणका लागि नगरपालिकामा पटक–पटक पहल गरेको उनले बताए ।
सरकारले स्वास्थ्य चौकीका नाममा जग्गाको लालपुर्जा भएमात्र भवन निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी आएको स्वास्थ्य चौकी प्रमुख कुर्मीले बताए । यसका लागि जग्गा यकिन गर्ने काम भइरहेको छ । ‘गत बुधबार स्वास्थ्य चौकी छेउमा रहेको ऐलानी सार्वजनिक जग्गा नापजाँच गर्न टोली आएको थियो,’ उनले भने, ‘तत्काल प्रक्रिया अगाडि बढाएर नयाँ भवन निर्माण गर्न आग्रह गरेका छौं ।’
भवन निर्माण नहुन्जेल तत्कालका लागि अस्थायी बसोवास मिलाउनसमेत नगरपालिकामा पहल भइरहेको उनले जनाए । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गरेको विवरण छ । साउनदेखि कात्तिकसम्म २१ जना गर्भवती महिलाले बर्थिङ सेन्टरमा शिशुलाई जन्म दिएको स्वास्थ्य चौकी इन्चार्ज कुर्मीले जनाए । पछिल्लो समय मंसिर १६ गतेसम्म ५ जना गर्भवती महिलाले सेन्टरमा आएर बच्चा जन्माएको उनले बताए ।भूषण यादव/’कान्तिपुर

