Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

वीरगन्ज,३०भदौं :वीरगन्जको नारायणी अस्पतालमा विगत ५ महिनादेखि बन्द रहेको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको छ ।

यसअघि सञ्चालनमा आएको ५ महिनापनि नबित्दै एमआरआई मेशिनको बाँकी भुक्तानीका विषयमा अस्पताल प्रशासन र आपुर्तिकर्ताबिचको विवादका कारण एमआरआई सेवा विगत ५ महिनादेखि बन्द रहेको थियो ।

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरि ल्याएको थ्रीटेस्लाको एमआरआई मेशिन अस्पतालमा जडान गरि गत गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

तर मेशीनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपुर्तिकर्ता कम्पनि हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेशीन उत्पादक चिनीया कम्पनिले मेशीनको सफ्टवेयर अपडेट (अद्यावधिक) नगदिएकाले मेशीन गत बैशाखदेखि बन्द हुन पुगेको थियो ।

दुई दिनअघिमात्र एमआरआई मेशिनको सफ्टवेयर अपडेट गरिएको र आइतबारदेखि फेरि एमआरआई सेवा सुचारु भएको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए । उनले भने,‘ मेसीन खरिद गरि ल्याएबापतको ५ प्रतिशत कर नेपाल सरकारलाई आपुर्तिकर्ता कम्पनिले बुझाएपछि अस्पताललेपनि उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम भुक्तानी गरिदियो । त्यसपछि उसले सफ्टवेयर अपडेट गरिदियो ।’

नारायणी अस्पतालको एमआरआई सेवा ५ महिनासम्म अवरुद्घ हुदाँ बिरामीहरु बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य भएका थिए ।नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको थियो ।

 

Related posts

उपेन्द्र यादवलाई रोक्न सिके राउत आफैं चुनावी कमाण्डर बनेर मैदानमा

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयको गुणस्तर सुधार्न अनुगमनमा कडाई गर्दै महानगर

MadhesKhabar

वीरगन्जमा एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर वितरण

MadhesKhabar

Leave a Comment