वीरगन्ज,९साउन:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले अहिलेकाे सरकारले मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउने बताएका छन् ।
पर्साको पोखरीया नगरपालिकाद्वारा बुधबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले अहिलेकाे सरकार दुई तिहाइ बहुमतको सरकार भएको तथा कांग्रेस र एमालेबीचको सहमति र सहकार्यबाट अब देशमा अलमल र अन्यौलको राजनीति अन्त्य हुने बताए ।
मन्त्री गुप्ताले पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित एक जना सांसद र दुई जना प्रदेशसभा सदस्य गरी तीनै जना संघीय र प्रदेशको मन्त्री बन्ने सौभाग्य जुटेको भन्नुहुँदै यस क्षेत्रका जनताको आशा र भरोसालाई आफूहरूले टुट्न नदिने बताए ।
मन्त्री गुप्ताले वर्तमान सरकारको सामु धेरै चुनौतीहरू रहेको भएपनि देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने काममा सरकार पछाडि नपर्ने बताए ।
उनले देशमा परिवर्तन र समृद्धि केपी ओली प्रधानमन्त्री हुँदा भएको कारण नेपाली जनताको आसा र भरोसाको केन्द्र बनेको वर्तमान सरकारले जनताले देख्ने र अनुभूति गर्ने गरी काम गर्ने बताए ।
पोखरीया नगरपालिकाका मेयर प्रद्युम्न चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा लगायतकोपनि सहभागीता थियो ।