बारा,१५असारःबाराको सिम्रौनगढ नगरपालिका प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एउटा गाडी र दुई जनालाई पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठूलो इटवाल टोलस्थित मनोज साहको घरबाट प्रहरीले २ सय १ केजी गाँजासहित पिकअप गाडीका चालक र सहचालकलई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा बागमती प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको पिकअप गाडीका चालक धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका २२ बर्षिय सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी नगरपालिका–१ का २३ बर्षिय रमेश नेपाली रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको प्रहरीको टोलीले शुक्रबार राति १० बजेतिर प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको पिकअप गाडी ठूलो इटवाल टोलमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा गाडीका चालक र सहचालकले धादिङबाट गाडीमा ल्याएको गाजाँ स्थानीय मनोज साहको घरमा लगेर झारेको बयान दिएका थिए । त्यसलगत्तै प्रहरीले साहको घरमा छापा मारेर खानतलासी लिदाँ १६ वटा पोकामा रहेका २ सय १ केजी गाँजा बरामद भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। घरधनी साह भने फरार रहेको उनले बताए ।
गाँजा र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले राइले जानकारी दिए ।

