Madhes Khabar
शिक्षा हेडलाइन

एसईईको नतिजा शुक्रबारसम्म

काठमाडौं,११असारःमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबार भित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जनाए । ‘सकभर चाँडो नै एसईईको नतिजा विद्यार्थीलाई दिने गरि काम भईरहेको छ,’ उनले भने, ‘ढिलोमा शुक्रबारसम्ममा रिजल्ट आइसक्छ ।’

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । तयारीको काम पूरा हुन साथ बोर्डको बैठक डोकेर नतिजा सार्वजनिक गरिने त्यहाँका कर्मचारीहरूले बताए ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन भएको थियो भने परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ । उक्त पद्धतिअनुसार गतवर्ष देखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुदैं आएको छ । त्यसमा परीक्षा दिएका मध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्ताङ्क जोडेर ३५ अंक ल्याए विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णांकको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् ।साभारः ईकान्तिपुरबाट

Related posts

वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

MadhesKhabar

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

MadhesKhabar

वीरगन्जमा हुण्डीको २२ लाख रकमसहित दुई नेपाली पक्राउ

MadhesKhabar

Leave a Comment