काठमाडौं,२७बैशाखःजनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष अशोक राईले पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको हात नभएको बताएका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टी फुटाएर नयाँ दल जसपा बनाएपछि बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जसपा अध्यक्ष राईले आफूहरूले उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग हिँड्ने घोषणा गरेको बताए।
उनले भने, ‘हामीलाई कुनै व्यक्तिले सांसद बनाएको होइन, जनताले बनाएका हुन्। यसमा अन्यथा प्रचार गर्नुपर्ने अराजनीतिक प्रचार हो। हामीले कसैसँगको लेनदेनको आधारमा विभाजन गरेको होइनौँ। हामीले भनिसक्यौँ सैद्धान्तिक, राजनीतिक, नीतिगत कुराहरूमा विमति भएकै कारणले विभाजन गरेका छौँ। त्यही अगाडि पार्टी निर्माण गरेर अघि बढ्छौँ।’
उपेन्द्र यादवले विधान विपरीत महाधिवेशन गर्न खोजेको आरोपपनि राईले लगाए ।’एकताको महाधिवेशन बनाउनुपर्नेमा, नेता–कार्यकर्ताको भावनाअनुरुप महाधिवेशन गर्नुपर्नेमा, विधानसम्मत महाधिवेशन गर्नुपर्नेमा उपेन्द्रजीले पार्टी कब्जा गर्न खोज्नुभयो। अनियमित ढंगले महाधिवेशन गर्न खोज्नुभयो। पार्टी नै कब्जा गर्ने मनस्थिति बनाएपछि उहाँलाई श्रीपेच लगाइदिन नेता–कार्यकर्ता तयार भएनन्,’ अध्यक्ष राईले भने।
आफूहरू सरकारमै रहेको उल्लेख गर्दै उनले भने,‘हामी सरकारमै छौँ, उपेन्द्रजी सरकारमा रहनुहुन्छ वा रहनुहुन्न भने उहाँ र प्रधानमन्त्रीको कुरा हो।’

