वीरगन्ज, १९बैशाखःआगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यिय नेपाली टोली घोषणा गरेको हो । बुधबार घोषणा गरिएको टोलीमा वीरगन्जको मुर्लीका आसिफ शेख र बाराको कललैयाका अनिल कुमार साहपनि समावेश छन् । तर यसअघि राष्ट्रिय टिमबाट खेल्दै आएका आसिफका सहोदर भाई आरिफ शेख भने टोलीमा अटाएका छैनन् ।
टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले जुन १२ तारिखमा श्रीलंकासँग खेल्नेछ ।
१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।
नेपालको टोली :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिल कुमार शाह ।

