वीरगन्ज,१९बैशाखः पर्साको ठोरी नाकामा बर्षौदेखि बन्द अवस्थामा रहेको ठोरी नाकामा रहेको अमृतधारा छोटी भन्सार कार्यालय बुधबारदेखि सेवा थप गर्दै पुनः सञ्चालनमा आएको छ ।
पर्सा जिल्ला कै दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरि स्तरोन्नत्ती गरिएको वर्षाै बितिसक्दापनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिदाँ उक्त छोटी भन्सार कार्यालय लामो समय देखि बन्द थियो ।
तर हालै संघीय सरकारको मन्त्रिपरिषद बैठकले छोटी भन्सार कार्यालय पुन सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधबारदेखि ठोरी छोटी भन्सार कार्यालय सेवा थप गर्दै पुनः सञ्चालनमा ल्याइएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।
यसअघि उक्त भन्सार कार्यालय सञ्चालनमा रहदाँका बखत घरायसी प्रायोजनका लागि भारतबाट ल्याइने अधिकतम १० हजार रुपैयाँ मुल्यका सामानको मात्रै भन्सार प्रज्ञापनपत्र काट्ने सेवा उपलब्ध थियो ।तर बुधबारदेखि उक्त सेवासंगै भारतबाट नेपाल आउने सवारी साधनको अस्थायी पैठारीको अनुमति दिने सेवापनि थप गरिएको पन्थीले बताए ।
प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार, बुधबारदेखि पुनः सञ्चालनमा आएको छोटी भन्सार कार्यालयमा वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंह र एक कार्यालय सहयोगीसहित दुई जना कर्मचारी खटाएको छ ।
बुधबार आयोजित औपचारिक कार्र्यक्रममा चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले रिबन काटेर थप सेवासहितको भन्सार कार्यालय पुनः सञ्चालनको समुद्घाटन गरिन् ।उक्त कार्यक्रममा चितवनका प्रदेश सभा सदस्य ठाकुर ढकाल, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला, चितवनको माडी नगरपालिकाकी मेयर ताराकाजी महत्तो , ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ , पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,पर्साका प्रहरी उपरक्षिक कुमोद ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतकोपनि उपस्थिती रहेको थियो ।
लामो समयको प्रतिक्षापछि ठोरी छोटी भन्सार कार्यालय थप सेवासहित पुनः सञ्चालनमा आएपछि ठोरीका व्यपारी, सर्वसाधरण सबै हर्षित बनेको ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।योसंगै भारतबाट ठोरी नाका हुदै नेपाल घुम्न आउने खासगरी भारतीय पर्यटकको संख्यापनि अब बढ्ने उनले बताए ।मधेस खबरसंग श्रेष्ठले भने,‘ एक त दुई चार किलो चिनी,दाल,तेल पारीको बजारबाट किनेर ल्याँउदा यहाँ भन्सार नहुदाँ सुरक्षाकर्मीबाट अनेक हैरानी खेप्नु पथ्र्यो ।अब भने त्यो समस्या टरेको छ । साथै यहाँको भन्सार बन्द हुदाँ भारतबाट नेपालका विभिन्न गन्तव्य घुम्न आउने पर्यटकले सवारीको भन्सार तिर्ने सुविधा नपाउँदा निराश हुदैं यहीबाट फर्केर जान्थे ।‘
तर अब ती पर्यटकहरु ठोरी नाका हुदैं सहजै नेपालको गन्तव्यमा जान पाउने हुदाँ पर्यटकको संख्यापनि बढ्ने र यसले ठोरीको बजार, होटल लगायतका व्यवसायलाई पनि चलायमान बनाउने उनले बताए ।
ठोरीका युवा अगुवा प्रकाश खनालले पनि लामो समयदेखि बन्द रहेको भन्सार पुन सञ्चालनमा आएपछि सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर ल्याइने सामानको भन्सार राजश्व तिर्न अब वीरगन्ज नै धाउनु पर्ने बाध्यता हटेको बताए ।
यसअघि गत माघ २७ गते नै तत्कालीन अर्थमन्त्री रामशरण महत आँफै ठोरीमा आएर ठोरी छोटी भन्सार कार्यालयको समुद्घाटन र पुनः सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो । तर उक्त कार्यक्रम अन्तिम समयमा आएर बिना कारण स्थगीत भएको थियो ।
पर्साको ठोरी गाउँपालिका तथा चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकाका जनप्रतिनिधीहरुको संयुक्त टोलीले काठमाडौंस्थित अर्थमन्त्रालय, भन्सार विभाग लगायतका निकायमा पटकपटक पुगेर ठोरी छोटी भन्सार पुनः सञ्चालनका लागि दबाबसहितको आग्रह गर्दै आएका थिए ।

