Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

चैती छठ पर्ब आजदेखि सुरु

फाइल तस्बिर ।

माधुरी महताे
वीरगन्ज ,३०चैत :मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब विधिवत रुपमा आज शुक्रबारदेखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्बको पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्ब प्रारम्भ गर्दै छन्। पर्बको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्ब हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्ब सम्पन्न गरिन्छ। मधेसमा छठ जनजन परिचालन हुने महापर्ब मानिन्छ। यद्यपि कातिककाे छठ जति चैती छठ पर्ब मनाउने भने देखिँदैनन्।

छठ पर्बको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदाे सूर्यलाई पवित्र जलाशयको घाटमा गएर पानीमा उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सँझिया घाटकाे अरघ’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ्य दिएर पर्ब सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरघाटकाे अरघ ’ र ‘पारन’ पनि भनिन्छ।

छठ पर्बमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बाेडी, सुथनी, मुला लगायतका फलफूल र हरयाे तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्ब हो। यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

Related posts

कालिकामाईको मुडली र बिरन्चीबार्वामा कांग्रेस उम्मेदवार रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

३० वर्षदेखि उखु किसानले पाउँदै आएको अनुदान यसपालि सरकारले रोक्यो

MadhesKhabar

काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल चौथो पटक बने सांसद

MadhesKhabar

Leave a Comment