रौतहट,२५फाल्गुनः डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध नेकपा एमालेसमर्थित राष्ट्रिय युवा संघ नेपालले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा एक घण्टा चक्काजाम गरेको छ।युवा संघ नेपालका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयअगाडि शुक्रबार टायर बालेर एक घण्टा चक्काजाम गरेका हुन्।
युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।चन्द्रपुर नगरपालिका– २ मा रहेको महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए।
गोप्य रूपमा सूचना निकालेर बिक्री–वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर भर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका वेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ।
दुई महिना पहिला चन्द्रपुर– २ को राष्ट्रिय वनमा भएको खयर फँडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर– २ का स्थानीय बासिन्दाले बताएका छन्।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महतोको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगाहपुरमा चक्काजाम गरेको हो।
विना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत महतोविरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालयअगाडि टायर बालेर चक्काजाम गरेका थिए। युवा संघ नेपालको नाराबाजीसहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सयौँ सवारीसाधन एक घण्टा रोकिन बाध्य भएका थिए।
चक्काजामपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महतोलाई तत्काल विभागीय कारबाही गर्न माग गरे।
लामालाई तत्काल रिहाइ गर्नुपर्ने र मिश्रा र महतोलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्नेलगायतका कार्यक्रम गर्ने बताएको छ।साभारःनयाँपत्रिकाबाट

