Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सालाई जेष्ठ ३ गते पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारी

वीरगन्ज,६फाल्गुन:पर्सा जिल्लालाई आगामी जेष्ठ ३ गते औपचारिक रुपमा पूर्ण खोप युक्त जिल्ला घोषणा गरिने भएको छ । स्वास्थ्य कार्यालय पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पूर्ण खोप तथा दिगोपना सम्बन्धमा सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रममा यस्तो सहमति भएको हो ।

कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले गत साता कालिकामाई गाउँपालिकालाई पूर्ण खोप युक्त पालिका घोषणा गरिएसँगै जिल्लाका १४ वटै पालिका पूर्ण खोप युक्त घोषणा भएकाले अब जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने बाटो खुलेको बताए । तर त्यसका लागि वैशाखमा संचालन हुने अन्य खोप अभियानहरुलाई सफलतापूर्वक सम्पन्न गरेर मात्र विधिवत रुपमा पूर्ण खोप जिल्ला घोषणा गर्नु उपयुक्त हुने उनले बताए ।

मधेस प्रदेशका आठ मध्ये चार जिल्ला पूर्ण खोप युक्त जिल्ला घोषणा भइसकेको भन्दै उनले अब पर्सा, रौतहट, धनुषा र महोत्तरी जिल्ला मात्र पूर्ण खोप युक्त जिल्ला घोषणा हुन बाँकी रहेको बताए ।

आइतबारकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले सरकारले आउदो असार मसान्तसम्म देशलाई पूर्ण खोप युक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरी रहेको र यसै सन्दर्भमा पर्सा जिल्लाले ५ महिना अघिनै सफलता पाउनु सराहनिय भएको बताए ।

युनिसेफ नेपालकी प्रतिनिधि विक्की प्रसाई र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि सुरेश शुक्लाले ठूलो परिश्रम र चुनौतीहरुलाई पार गर्दै पर्सा जिल्लाका स्वास्थ्यकर्मीहरुले पूर्ण खोप अभियानलाई सफल बनाएकोमा शुभकामना दिए ।

पर्सामा पूर्ण खाेप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै जिल्लालाई पूर्ण खोप घोषणा गरी सक्नु पर्थ्यो । तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएको छ । पछिल्लो ५ बर्ष यता कोरोनाकाल तथा अन्य कारण देखाएर काममा ढिलाई भइरहेको थियो ।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्न जिल्लाका २३ महिना मुनिका करिब २५ हजार बालबालिकाले सबै खोप लगाई सकेको हुनुपर्छ । ती मध्ये १ वर्षमुनिका १५ हजार बालबालिकालाई दादुराको दोश्रो खोप लगाई सकेको हुनुपर्छ ।

१५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा पालिका वा जिल्लालाई पूर्ण खोप घोषणा गरिन्छ । २३ महिना मुनिका बालबालिकाले बिसिजी १ मात्रा, डिपिटी/एचइपिबिएचआइबिको ३, ओपीभीको ३, पीसीभीको ३, दादुराको २, जेइको १ डाेज खोप लिएको हुनुपर्छ । यी मध्ये एउटा पनि बालबालिका कुनै एक खोपबाट बन्चित हुनुहुँदैन ।

 

प्रजिअ भुषालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी,स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साह, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य,प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव,स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुर, सामाजिक अभियन्ता प्रकाश थारु लगायतकोपनि सहभागिता थियाे।

Related posts

आज छठकाे मुख्य दिन :सुर्य भगवान् र छठी मैयालाई अर्घ दिएर हर्षाेल्लासका साथ मनाइदैं

MadhesKhabar

दाइजोले प्रताडित प्रियदर्शनी रुदै भन्छिन् – विहे भएको १५ महिनामै १५ वटा मुद्धा बोकेर अदालत धाइरहेको छु

MadhesKhabar

प्रदीप यादवले गरेका कामले पर्सा १ मा जसपा प्रतिको आकर्षण झन् बढ्दै

MadhesKhabar

Leave a Comment