वीरगन्ज,२४पुष:वीरगन्जमा नमुना सयुँक्त राष्ट्र संघ सम्मेलन सम्पन्न भएको छ । अमेरिकी दूतावासको सहकार्यमा वैचारिक युवा समाजले मधेस प्रदेशलाई लक्षित गर्दै आयोजना गरेको नमुना सयुँक्त राष्ट्र संघ सम्मेलनको तेस्रो संस्करण वीरगन्जस्थित नगर सभा गृहमा सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, अधिवक्ता अमिता शर्मा लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा सहभागी १८ देखि ३० वर्ष उमेर समूहका ४९ जना युवाहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा र अजेण्डामा आधारित रहेर बहस तथा छलफल गरेका थिए । पहिलो समिति (एसओसिएचयुएम) ले बाल र जबरजस्ती विवाह सम्बन्धी सामाजिक एवम् सांस्कृतिक मुद्दामा छलफल गरेको थियो ।
दोस्रो समिति (युनिसेफ) ले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने विषयका विविध आयामका बारेमा अर्थपूर्ण छलफल गरेको कार्यक्रम संयोजक दिपिका श्रेष्ठले जानकारी दिइन् । सबै युवाहरुलाई विभिन्न देशको प्रतिनीधि बनाइएको थियो । जसमा प्रतिनीधिहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुका साथै वैचारिक बहस, कुटनीतिक वार्ता तथा मस्यौदाका प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
सम्मेलनको दोस्रो दिन पत्रकार एवंव आसमान नेपालका धर्मेन्द्र प्रसाद चौरसियाले बालविवाह र लैंगिक विभेदको बारे प्रस्तुती दिएका थिए । त्यस्तै अधिवक्ता अमिता शर्माले कानुनी प्रावधानका बारेमा प्रकाश पारेकी थिइन् ।
सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । महिला उद्यमी चञ्चला दासले सम्मेलनलाई निरन्तरता दिई आगामी दिनमा अरु छुटेका युवालाई पनि समावेश गराउन आग्रह गरिन् ।
सम्मेलनले मधेस प्रदेशको शैक्षिक गुणस्तरीयता र युवा जागरणको पहलमा सकारात्मक उपलब्धी हासिल भएकाे वैचारिक युवा समाजका दिलिप हजराले बताए । यो सम्मेलनबाट केही प्रतिनीधि छनौट गरेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन (एभरेष्ट अन्तर्राष्ट्रिय नमुना सयुँक्त राष्ट्र संघ सम्मेलन) मा सहभागी गराइने उनले जानकारी गराए । वैचारिक युवा समाजले अब कर्णाली प्रदेशमा यही सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको पनि उनले बताए ।

