Madhes Khabar
राजनीति

जसपा प्रमुख सचेतक यादव भन्छन् : सरकार माफियाहरूको चलखेलमा परेको छ

फाइल फोटो ।

वीरगन्ज,११पुष : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले सरकार माफियाहरूको चलखेलमा परेको आरोप लगाएका छन् ।

सचेतक यादवले शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ नेपाल वायुसेवा निगमबाट खोसेर प्रतिस्पर्धामा दिने सरकारको निर्णय प्रति विरोध जनाउँदै सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।

सरकारले नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ खोसेर निगमलाई नै सिद्ध्याउने खोजिरहेको आरोप समेत उनले लगाएका छन् । “पटक पटक निगमको ग्राउन्ड ह्यान्ड्लिङ खोस्न किन लागि परिरहन्छन् ? माफियाहरूको चलखेलमा सरकार किन पर्छ ?,” उनले लेखेका छन् ।

वायु सेवा निगमले देशलाई आर्थिक रूपमा समृद्धि बनाउन वर्षेनी अर्बौ विदेशी मुद्रा राज्यका लागि सिञ्चित गर्नुका साथै आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एंव आयकर समेत सरकारलाई बुझाइरहँदा माफियाहरूले यसलाई सिद्ध्याउन खोजिरहेको उनको कथन छ । “निगमले यात्रु र पर्यटक बोकी बर्सेनि करिब २० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति बढाइ देश आर्थिक रूपमा समृद्ध गर्न सघाउँछ । आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकरसमेत सरकारलाई बुझाइरहेको छ,” पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले लेखेका छन्, “सञ्चयकोष र नागरिक लगानी कोषको ऋण पनि तिरिरहेको छ । दुर्गम क्षेत्रमा उडान भर्ने जहाजसमेत थप्दै छ ।”

वायु सेवा निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार उडानको साथै एयरपोर्टको ग्राउण्ड ह्यान्ड्लिङ गर्दै आएको इतिहासलाई स्मरण गराउँदै यादवले निगमको ग्राउन्ड ह्यान्ड्लिङ अन्तर्राष्ट्रिय आइएटीए आइएसएजीओ प्रमाणित रहेको यसका लागी प्रत्येक दुई वर्षमा सेवा र सुरक्षा गुणस्तरीयता परीक्षण समेत हुने गरेको बताएका छन् । “नेपालमा यो सर्टिफिकेट पाउने नेपाल वायुसेवा निगम मात्र हो, अरू छैन,” उनले उल्लेख गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले वायु सेवजा निगम राज्यको सम्पत्ति भएको बताउँदै राष्ट्रिय ध्वजाबाहक फहराउँदै देश विदेशमा उच्चस्तरीय भ्रमण हुँदा सबैको छाती गर्वले फुल्ने गरेको बताएका छन् । “मर्दा, पर्दा, अलपत्र हुँदा निगमले तुरुन्त उडेर उद्धार गरेको छ । इजरायलको घटना होस वा लकडाउन होस् वा अफगानिस्तानको आक्रमण होस् वा जाजरकोटको भूकम्प होस् देशले नेपाल वायुसेवा निगममार्फत सशक्त उपस्थिति देखाएको छ । भन्ने बित्तिकै उडेर सेवा दिएको छ । नेपाल वायुसेवा निगम देशको पहिचान हो, इज्जत हो । अरू देशसँग जोडिने गगन – सेतु हो । निगमले उडान भरेर र ग्राउण्ड ह्याण्ड्लिङ गरेर विदेशी मुद्रा आर्जन गर्छ, प्रत्यक्ष रेमिटेन्स भित्र्याउँछ,” उनले थपेका छन् ।

यादवले निगमलाई सिद्ध्याउन खोज्ने आफै सिद्धिएको इतिहास रहेको समेत उल्लेख गरेका छन् । “इतिहास साक्षी छ, कसैको पद गएको छ त कोही सिधै माथि गएका छन् । चेतना भया,” उनले लेखेका छन् ।

Related posts

मधेसी जनताको चाहना अनुसार जसपा नेपालसंग एकता गरेका हौं : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

प्रतिशोध राखेर गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

Leave a Comment