वीरगन्ज,११पुष : वीरगन्जमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्लको घातक बलिङमा आर्मीले अर्को विभार्गीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २६ रनले पराजित गरेको हो ।
आर्मीले दिदएको ११५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको एपिएफ क्लब १९ ओभरमा ८८ रन बनाउँदै अलआउट भएपछि आर्मीले उक्त खेल २६ रनले जितेको हो ।
आर्मीका लागि एपिएफका कप्तान प्रदीप ऐरीले ३३ बलमा सर्वाधिक २९ रन बनाए। लोकेश बमले १९ बलमा १६ र आसिफ शेखले १७ बलमा १२ रनमात्र जोडे ।बलिङतर्फ आर्मीका कुशल मल्ल एक्लैले एपिएफको पाँच विकेट लिए। चार ओभरमा उनले १८ रन दिएर पाँच विकेट लिएका हुन् ।यस्तै साहब आलम, सोमपाल कामी, विवेक यादव र बसिर अहमदले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ३२ रन बनाए। कुशल मल्लले २२ , सन्दीप रजालीले १६ र विनोद भण्डारीले १० रनको योगदान दिए।
बलिङतर्फ एपिएफका अमरसिंह रौटेलाले चार ओभरमा ११ रन खर्चिएर पाँच विकेट लिए भने हरिशंकर साहले दुई र अविनाश बोहोराले एक विकेट लिए।

