वीरगन्ज,२५कार्तिक : मधेस प्रदेशकै उच्च धनराशी पुरस्कार भएको ‘प्रथम वीरगन्ज गोल्डकप फुटबल’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइबेकरमा २–० ले स्तब्ध पार्दै पुलिस क्लबले उपाधि उचालेको हो ।
उपाधीसंग पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पु्रस्कार पायो भने उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमै चित्त बुझायो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतिजा टाइबेकरबाट निकालिएको थियो । टाइबेकरमा आर्मीका चारै जना स्टाइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो ।
टाइबेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तमांगले गोल गरे भने उज्वल राईको पेनाल्टी सुट आर्मीका गोल रक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।
टाइबेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोष्टको सेकेण्ड बार बाहिर गयो भने बिमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकिदिएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोष्टको बारमा लागेर फर्किएको थियो ।
यसअघि निर्धारित समयको खेलमा भने आर्मीमाथि पुलिसका खेलाडी तुलनात्मक रुपमा हाबी भएपनि गोल गर्न भने असफल भएका थिए । खेलको ३६ औं मिनेटमा पुलिसका उज्वल राईले पुलिसको डिबक्स छेउबाटै गरेको प्रहार पोलको नजिकैबाट बाहिर गएको थियो । खेलको ४० औं मिनेटमा फेरि उज्वलले नै डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर गोल हुनबाट जोगाएका थिए ।
खेलको ५५ मिनेटमापनि पुलिसले गोल गर्ने अवसर गुमाउन पुगेको थियो ।प्रताप गुरुंगले पास गरेर दिएको बल विवेक सन्तोषीले आर्मीका गोलरक्षक विकेशलाई छल्दै अगाडि बढाइसकेको भएपनि आर्मीका रक्षापंक्तीले त्यसलाई क्लीयर गरिदिएका थिए ।
६९ औं मिनेटमा भने आर्मीलेपनि गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो । सन्तोष केसीले गरेको प्रहारमा आशीक बाबु चौधरीले गरेको हेड पुलिसको बारमाथिबाट बाहिरिन पुगेको थियो ।
फाइनल खेलमा टाइबेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सुत्रुधन चौधरी फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुंग घोषित भए । उनले नगद ५० हजार रुपैयाँपनि प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै सत्रुधन चौधरी ,उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनिहरुलाई जनही २०÷२० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनलेपनि नगद २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता र उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गरे । त्यसअवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,पर्साका प्रहरी उपरक्षिक कोमल शाह लगायतकोपनि उपस्थिती थियो ।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले कात्र्तिक १८ देखि २५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी थिए ।

