वीरगन्ज,२७असाेज:सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न हरेक जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन लिन सुरु गरेपछि मिटरब्याजसम्बन्धी अधिकांश पीडितको जग्गा नै साहुले रोक्का राखेको खुलेको छ।
मिटरब्याजबाट पीडित भएकाहरूले आफ्नो जग्गा रोक्का गराएर मात्रै साहुले ऋण दिएको खुलेको छ। यस्तै, कागज गराएर रकम दिए पनि ब्याज तिर्न नसक्दा साहुले ऋणीबाट ब्याजको पैसा बदलामा ऋणीको जग्गा नै रोक्का गराएको भेटिएको छ।
स्वास्थ्यमा समस्या आएपछि अप्रेशन गराउनका लागि डेढ लाख रकम गाउँकै एक जना साहुबाट कागज गरी ऋण लिएकोमा समयमा ब्याज तिर्न नसक्दा उक्त ब्याज बढी भएपछि साहुले अहिले आएर जमिन नै पास गर्न भनिरहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी तारा देबीले बताइन्।
सावा र ब्याज मिलाएर साढे दुई लाख रकम दिँदा पनि साहुले लिन नमानेको तथा जमिन नै लिने अडान लिएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनले जानकारी दिइन्। यसैगरी, घरखर्च चलाउन भनी टोलकै साहुबाट ऋण लिए पनि ब्याज तिर्न नसक्दा घर नै खाली गर्न धाक धम्की दिने गरेको वीरगञ्ज इनर्वा टोलकी सुखली देवीले गुनासो गरिन्।
सरकारले मिटरब्याज पीडितका लागि निवेदन आह्वान गरेपछि हालसम्म पर्सामा एक हजार ३ सय २१ वटा मुद्दा दर्ता भएका छन्। उक्त निवेदनमा जेठ २४ गतेदेखि नै छलफल सुरु गरिएको थियो। जसमध्ये हालसम्म ६ सय ९५ वटा मुद्दामा छलफल भएकोमा हालसम्म ७८ कित्ताको १५ बिघा पाँच कट्ठा ११ धुर जग्गा फिर्ता गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।
हालसम्म छलफल भएकामध्ये ३ सय ९५ वटा मुद्दा अर्थात् ३० प्रतिशत मात्रै पीडितको पक्षमा उजुरी फस्र्याेट भएको उनले बताए।
‘हालसम्म जग्गा पनि फिर्ता भएको छ, अदालतबाट पनि केही मुद्दामा निषेधाज्ञा जारी गरिएको छ, हामी दैनिक छलफलमा बस्ने गरेका छौँ,’ उनले भने।
यी उजुरीमा साहुबाट दिएको दाबी रकम ११ करोड ४१ लाख २० हजार छ भने ऋणीले लिएको रकम चार करोड १३ लाख ७० हजार मात्रै रहेको ऋणीले बताएको लम्सालको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीमध्ये एक सय २१ वटा उजुरीमा साहुहरूले अदालतबाट निषेधाज्ञासमेत जारी गराएका छन्।साभार:देशसञ्चारबाट