Madhes Khabar
स्थानिय हेडलाइन

पचरौता नगरपालिकामा राजनीतिक खिचातानीले २ महिनामै प्रशासकीय अधिकृतको ३ पटक सरुवा

काठमाडौं,२३असोजः शाखा अधिकृत महेशकुमार मिश्रको गएको साउन १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट बाराको पचरौता नगरपालिकामा पदस्थापन भयो । निजामती सेवा ऐन, २०४९ को दफा १५ को उपदफा (१) बमोजिम उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नगरपालिकामा पदस्थापन गरिएको हो ।

तर, उनी नगरपालिकामा पदस्थापन भएको लामो समयसम्म हाजिर नै भएनन् । ढिलो गरी हाजिर भएका मिश्रलाई मेयर जलन्धर सिंहले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउने पहल गरे । मेयरको चाहनाअनुसार नै मन्त्रालयले एक साताअघि असोज १४ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त दरबन्दी कायम रहने गरी प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दियो ।

तर, मिश्रले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चार दिन पनि लिन पाएनन् । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १५ को उपदफा (१) अनुसार नगरपालिकाबाट मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन ग¥यो ।
मिश्र दुई महिनाभित्र तीन पटक सरुवा भए । त्यसमाथि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको दुई दिनमै मिश्र सरुवामा परे ।

सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको प्रतिनिधि हुने भएकाले जुनसुकै बेला पनि सरुवा हुनसक्ने जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सुमन दाहालका अनुसार कतिपय अवस्थामा जुनसुकै बेला पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनसक्छ ।

स्थानीय तहमा काम गर्दा विभिन्न कारणले समस्या हुनसक्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत विभिन्न कारणले सरुवा हुने र त्यसैअनुसार मिश्र पनि सरुवा भएको हुनसक्ने बताए ।

मन्त्रालयले सरुवा गरेका मिश्रले भने रमाना नदिएकाले नगरपालिकामै रोकिएको बताए ।
‘साउन १८ गतेको पत्र फेसबुकमा देखेको हो । अर्को दुइटा पत्र पाएको तीन दिन भयो । असोज १४ गतेको पत्रअनुसार मेरो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको रहेछ । फेरि १८ गते मन्त्रालयकै अतिरिक्त समूहमा सरुवा भएको रहेछ’, उनले भने, ‘मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । नगरपालिकाले पनि रमाना दिएको छैन । बुझबुझारथ गर्ने कर्मचारी पनि कोही छैन ।’

मिश्रले आफू नगरपालिकामा सरुवा भएर आउँदा पनि मार्नेसम्मका धम्की आएपछि प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको ग्यारेन्टी गरेर नगरपालिकामा खटिएको दाबी गरे ।

‘म एउटा कर्मचारीमात्रै हो । मैले सरकारले खटाएको ठाउँमा गएर काम गर्ने हो । राजनीति गर्ने होइन र गर्न पनि आएको होइन’, उनले भने, ‘म नगरपालिकामा आउनुअघि देखि नै मलाई हातखुट्टा काटिदिने, गोली ठोकिदिने भनेर पनि धम्की आएका थिए र आइरहेका छन् । त्यसैले म आफ्नो कार्यालयभन्दा बाहिर निस्किएको पनि छैन । प्रमुख जिल्ला अधिकारीसमक्ष सुरक्षाको लागि निवेदन दिएर काम गर्दैछु ।’

नयाँ नआएसम्म रमाना दिँदैनौं : मेयर सिंह

मेयर सिंह नेकपा एमालेबाट निर्वाचित भएका हुन् । आफूमाथि राजनीतिक प्रतिशोध साँधेर जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीको दबाबमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले चलखेल गरेर प्रमुख प्रशासकीय अधिकृत मिश्रको सरुवा दुई दिनमै गरेको मेयर सिंहको दाबी छ ।उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म सरुवा भएका मिश्रलाई रमाना नदिने बताए ।

‘मुखैमा दशैँ आएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेला भएको छ । यस्तो बेला नयाँ नपठाएर किन राजनीतिक प्रतिशोध साँधेर प्रमुख प्रशासकीय अधिृकत सरुवा गरियो ?’, मेयर सिंहले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म म रमना दिनेवाला छैन ।’

उनका अनुसार यसअघि स्वास्थ्य सेवाको अहेब श्याम यादव निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारीमा थिए । तर, उनी गायब भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । यसबीचमा मिश्र आएको मेयर सिंहले बताए ।

भारतीय सीमा नाका नजिकको नगरपालिका भएकाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कोही पनि आउन नमान्ने गरेको उनको गुनासो छ । उनका अनुसार नगरपालिकामा उपसचिवको दरबन्दी भए पनि लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत कहिले पशु सेवाको त कहिले स्वास्थ्य सेवाको कर्मचारीले चलाउँदै आएका थिए ।

मन्त्रालय स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृत मिश्रको पक्षमा मेयर सिंहले रहेपनि कतिपय वडा अध्यक्ष र सदस्य विपक्षमा छन् । उनीहरु मिश्रमाथि गम्भीर आरोप लगाउँदै सरुवा गर्न लागिपरेका थिए ।

केही समयअघि मेयर सिंंहले मन्त्रालयमै पुगेर मिश्रलाई सरुवा नगर्न भनेका थिए । मिश्रका विपक्षीले भेन जसरी पनि सरुवा गर्नुपर्ने दबाब दिएका थिए ।

स्रोतका अनुसार पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाबारे पूर्वमन्त्रीले समेत मन्त्रालयका कर्मचारीलाई हप्कीदप्की गरेका थिए ।साभारः नेपाल प्रेसबाट

Related posts

सब–इन्जिनियर यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

MadhesKhabar

वडासदस्यको निधन भएको शोकमा बिहीबार वीरगन्ज महानगरपालिका बन्द रहने

MadhesKhabar

ठाकुरराम क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन थालियाे पहल

MadhesKhabar

Leave a Comment