वीरगन्ज,२०असोज : बारामा तीन दिनयता देखि प्रहरीले अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीहरु नष्ट गर्ने अभियान चलाएको छ ।
गत बुधबारदेखि थालिएको उक्त अभियान अन्तर्गत तीन दिनको अवधीमा प्रहरीले विभिन्न गाँउमा लुकाइ छिपाई सञ्चालित २२ वटा रक्सी भट्टी भत्काएर नष्ट गरेको छ । यस्तै ती रक्सी भट्टीबाट कच्चा पदार्थ र तयारी गरी १ लाख ४१ हजार लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।यस्तै घरेलु मदिरा बनाउन प्रयोग गरिएका ड्रम १ सय २४ थान र मेशिन १२ वटा बरामदपनि गरिएको न्यौपानेले बतााए ।
उनका अनुसार , जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बारागढी गाँउपालिका वडा नम्बर ३ खोपवामा सञ्चालित दुई र वडा नम्बर २ दउरवामा तीन वटा रक्सी भट्टी तोडफोड गरेर नष्ट गरेको हो । त्यसक्रममा रक्सी बनाउन प्रयोग हुने ३४ वटा ड्रम र दुई वटा ड्रम बरामद गर्नुका साथै ३५ हजार लिटर कच्चा पदार्थ र ५५ हजार लिटर तयारी मदिरा बरामद गरि नष्ट गरिएको न्यौपानेले बताए ।
यस्तै गत बिहीबार करैयामाई गाँँउपालिका वडा नम्बर ३ गालोपट्टीमा एउटा र महागढीमाई नगरपालिका वडा नम्बर ३ गन्जभवानीपुरमा ९ वटा रक्सी भट्टी भत्काएर नष्ट गरिएको उनले बताए । त्यसक्रममा मदिरा बनाउन प्रयोग गरिने १४ थान ड्रम र ५ थान मेशिन बरामद गरिएको तथा कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २ हजार ५ सय लिटर नष्ट गरिएको न्यौपानेले जानकारी गराए ।
यसैगरी गत बुधबार पचरौता नगरपालिका वडा नम्बर ८ छपकैयामा पाँच वटा र आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ६ पटेर्वा गाँउमा दुई वटा रक्सी भट्टी नष्ट गरिएको उनले बताए ।त्यसक्रममा रक्सी बनाउन प्रयोग गरिएको ड्रम ७६ थान र मेशिन पाँच थान बरामद गर्नुका साथै कच्चा पदार्थ ४० हजार लिटर र तयारी मदिरा पाँच हजार लिटर नष्ट गगरिएको जानकारी उनले दिए ।
विशेष गरी भारतसंग खुल्ला सीमा जाोडिएका जिल्लाका गाँउहरुमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको खोजी गर्दै नष्ट गर्ने अभियाान थालेको हो ।
सीमावर्ती भारतको बिहारमा त्यहाँको सरकारले मदिराको उत्पादन , ओसार पसार , बिक्रीवितरण र सेवनमा ९ वर्षप्पहिले देखि प्रतिबन्ध लगाएको छ । जसका कारण बिहारसंग सीमा जोडिएका मधेसका जिल्लाका सीमावर्ती गाँँउहरुमा घरेलु रक्सीको उत्पादन र भारतमा तस्करी हुदै आएको छ ।
यहि असोज ८ गते बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै सञ्चालित रक्सी भट्टीमा एक पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएपछि बारामा प्रहरीले रक्सी भट्टी नष्ट गर्ने अभियानलार्ई तिब्र बनाएको हो ।
तीनवर्षअअघि २०७६ असोज १६ मा बाराकै फेटा गाँउपालिका ४ बतरा गाँउमा अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको भूमीगत ट्याङ्कीभित्र निसास्सिएर एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको थियो ।

