Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा ‘रात्रि बजार’ पुनः सुरु हुने, दशैंमा पाँच दिन लगाउने महानगरको तयारी

वीरगन्ज, १४ असोज : वीरगन्ज महानगरपालिकाले ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको छ ।नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गरेको र मौसमसमेत सुधार भएकाले गएको दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी महानगरपालिकाले गरेको हो ।

यसअघि हरेक महिनाकाे अन्तिम शुक्रबार र शनिबार गरी दुई दिन मात्र लाग्दै आएकाे ‘रात्रि बजार’ महानगरले यस पटक भने ‘रात्रि बजार’ ५ दिन लगाउने गरि तयारी गरेकाे छ।

दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि पाँच दिन ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए।
उनले भने, ‘यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने ‘रात्रि बजार’ कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरि लगाउने तयारी थालेका छौँ ।’

यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहनेपनि जनाएको छ । रात्रि बजारमा भारतीय पर्यटक भित्र्याउन वीरगन्ज नाका रातको १२ बजेसम्म खुल्ला रहने मेयर सिंहले बताए ।

सामान्यतया नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर रात्री बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ ।

महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो ।
यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको मेयर सिंहले बताए ।

उनका अनुसार दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका गरि दुई सय वटा स्टलहरु राखिनेछ ।

महानगरले ‘रात्री बजार’ सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय , ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दशैं लक्षित रात्रि बजार लगाउन लागेको सिंहले जानकारी गराए। रात्रि बजारमा लगाइने स्टलहरु बुकिङ खुल्ला गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

Related posts

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

उपेन्द्र यादवले जितेको सप्तरी २ बाट सिके राउत चुनाव लड्ने

MadhesKhabar

भारतले रक्सौल–वीरगन्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा राेक लगाउदै

MadhesKhabar

Leave a Comment