वीरगन्ज ,१८भदाैं: नेपाल र भारतबिचकाे क्रिकेट खेल हेर्नका लागि वीरगन्ज महानगरपालिकाकाे कार्यालय र मातहतका वडा कार्यालयहरुपनि साेमबार दिउँसाे २ बजेपछि बन्द हुने भएका छन् ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिचकाे खेल श्रीलंकाकाे क्यान्डीस्थित पल्लेके स्टेडियममा साेमबार अपरान्ह सवा ३ बजेदेखि सुरु हुदैछ ।
नेपाल र भारतबिचकाे उक्त खेल हेर्नकै लागि महानगरमा रहेका सबै विद्यालयमा साेमबार दिउँसाे २ बजेपछि पठनपाठन बन्द गर्ने निर्णय गरेकाे वीरगन्ज महानगरपालिकाले महानगरपालिकाकाे कार्यालय र मातहतका वडा कार्यालयहरुमा दिउँसाे २ बजेपछि अत्यावश्यक सेवा बाहेकका अरु सबै सेवा बन्द गरिने जनाएकाे हाे ।
नेपाली राष्ट्रिय टाेलीका खेलाडीहरुकाे मनाेबल र हाैसला बढाउन तथा सम्मान प्रकट गर्न यस्ताे निर्णय गरिएको महानगरपालिकाकाे कार्यालयले जारी गरेकाे सुचनामा उल्लेख छ ।
उक्त खेल हेर्नका लागि मधेस प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकालेपनि साेमबार दिउँसाे २ बजेपछि त्यहाँ रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय यसअघि नै गरिसकेकाे छ ।


