Madhes Khabar
स्थानिय

सांसद यादव र मेयर सिंहको पहल : नेपाली गाडीलाई रक्सौल जान लिनु पर्दैन पास

वीरगन्ज, १७ साउन : वीरगन्जबाट सीमावर्ती भारतीय शहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई भारतीय महावाणिज्य दूतावासबाट अब विशेष पास नलिनुपर्ने भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार भारत सरकारको निकायसंग पहल गरे पश्चात रक्सौल बजारमा नेपाली सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले बुधबार सीमावर्र्ती भारतीय शहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेर पास लिने नियम हटाउन छलफल गरेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगन्जबासीको सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिकसमेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र अव्यवहारिक देखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।

सांसद यादव र मेयर सिंहको आग्रहपछि भारतीय भन्सार विभागले नेपाली नम्बर प्लेट भएको चार चक्के गाडीलाई पास लिनुपर्ने मंगलबारदेखि लगाएको प्रावधान बुधबारदेखि नै हटाएको हो । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सन्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए ।

यसअघि मंगलबारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।

Related posts

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

MadhesKhabar

वीरगन्जमा हैजा प्रकोप : काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि

MadhesKhabar

वीरगन्जमा पानीको संकटले जनतामा परेको पीडामा संगै छु,समस्या समधान गरेरै छाड्छु : मन्त्री यादव

MadhesKhabar

Leave a Comment